१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दम घटाउने इनहेलर र उपचार सबै बिरामीको पहुँचमा छैन

नेपालमा दम रोगीको संख्या उल्लेखनीय रहेको र उनीहरूको उपचारमा आवश्यक औषधि एन्टी–इन्फ्लामेटरी (श्वास–नलीको सूजन घटाउने औषधि) सबैको पहुँचमा पुर्‍याउन राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले सुझाव दिएको छ।

विश्व दम दिवस (वल्र्ड अस्थमा डे) को अवसरमा केन्द्रले यस्तो अपिल गरेको हो। नेपालसहित निम्न तथा मध्यम आय भएका देशहरूमा दमका बिरामीहरूको रोग नियन्त्रणमा प्रयोग हुने यो औषधिको पहुँच नहुँदा अकालमै मृत्यु हुने गरेको जनाउँदै औषधिको सहज पहुँचको व्यवस्था गर्न अपिल गरिएको हो।

तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ६ देखि ८ प्रतिशत जनसंख्यामा दम रोग छ। दम रोगीमध्ये धेरैको समयमै पहिचान नहुने र भए पनि सबैको पहुँचमा उपचार र औषधि नभएको टिचिङ अस्पतालका श्वास–प्रश्वास तथा छाती रोग विशेषज्ञ डा. सन्त कुमार दास बताउँछन्। उनका अनुसार दम रोग पहिचानका लागि आवश्यक स्पाइरोमिटर जिल्ला अस्पताल र आधारभूत अस्पतालमा नहुँदा बिरामीको समयमै पहिचान हुन सकेको छैन। पहिचान भएका बिरामीका हकमा नियमित रूपमा प्रयोग गर्ने सूजन कम गर्ने इनहेलर औषधि आधारभूत औषधिभित्र समावेश नभएकाले सबैको पहुँचमा नभएको डा. दास बताउँछन्।

तथ्यांक अनुसार विश्वभर करिब २६ करोड मानिस दम रोगबाट प्रभावित छन्। जसका कारण बालबालिका, वयस्क, किशोर–किशोरी र सबै उमेर समूह प्रभावित भइरहेका छन्। दमका कुल वार्षिक मृत्युमा ९६ प्रतिशत मध्यम तथा निम्न आय भएका नेपालजस्ता देशहरूमा हुने गर्छ।

दम रोगले मानिसको श्वास–प्रश्वास प्रणालीसँगै सम्पूर्ण जीवनमा प्रभाव पार्ने भएकाले दिगो स्वास्थ्य जीवन कायम राख्न आवश्यक औषधिको प्रबन्ध तथा उपलब्धता हुनुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको छ। संगठनका अनुसार दम प्रभावित व्यक्ति नियमित विद्यालय जान नसक्ने, कार्यस्थलमा अनुपस्थित हुने, शारीरिक गतिविधि बढाउन नसक्ने, निद्रामा समस्या हुने, निरन्तर थकान महसुस हुने तथा मानसिक रूपमा डर, तनाव र चिन्ता बढ्ने हुँदा समग्र जीवनको गुणस्तर घट्छ। दम रोगमा समयमै निदान नहुने समस्या कायमै रहेकाले बिरामी थप प्रभावित हुने गरेका छन्।

वंशाणुगत कारण, तीव्र सहरीकरण, जलवायु परिवर्तन, अस्वस्थ जीवनशैली, धूमपान, धुवाँमा काम गर्नुपर्ने बाध्यता जस्ता कारणले दम रोग बढ्दै गएको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले जनाएको छ। विद्यमान दम रोगीको दिगो तथा स्वस्थ जीवन व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य संस्थाहरूमा दम उपचारका आधारभूत सामग्री, विशेषगरी एन्टी–इन्फ्लामेटरी इनहेलरको उपलब्धता कम हुनु र भएका औषधि पनि अत्यधिक महँगो हुनुका कारण विश्वभर दमबाट हुने ९६ प्रतिशत मृत्यु नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशहरूमा हुने गरेको पाइन्छ। उच्च आय भएका देशहरूमा समेत सबैको पहुँचमा नहुँदा रोकथामयोग्य मृत्यु समेत हुने गरेको केन्द्रले जनाएको छ।

दम रोग प्रायः सानो उमेरमै हुने भएकाले यसको समयमै पहिचान र व्यवस्थापन भएमा हरेक मानिसले सामान्य जीवनयापन गर्न सक्छन्। टिचिङ अस्पतालका डा. दासका अनुसार सरकारले रोग पहिचानका लागि आवश्यक उपकरण आधारभूत तथा जिल्ला अस्पतालसम्म उपलब्ध गराएमा समयमै पहिचान सम्भव हुन्छ। अहिले निःशुल्क औषधिभित्र समावेश गरिएको दम रोगको ट्याब्लेटको सट्टा श्वास–नलीको सूजन कम गर्ने इनहेलर तथा औषधि समावेश गरेमा सबै बिरामीको पहुँचमा पुग्न सक्ने उनले बताए। 'ट्याब्लेटको सट्टा इनहेलर औषधि समावेश गर्न आवश्यक देखिन्छ,' उनले भने।

दम रोगमा प्रयोग हुने धेरैजसो औषधि नेपालमा उपलब्ध भए पनि पछिल्लो चरणमा विकास भएका केही औषधि भने नेपाल सरकारबाट अनुमति नपाएको सिभिल अस्पतालका छातिरोग विशेषज्ञ डा. विदेश विष्ट बताउँछन्। 'केही यस्ता औषधि छन्, जुन औषधि व्यवस्था विभागबाट अनुमति पाएका छैनन्,' उनले भने। उनका अनुसार नयाँ विकसित औषधिहरूले स्वास्थ्यमा अन्य असर पनि कम पार्ने गरी विकास गरिएको छ।

दमको समयमै पहिचान र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूसँग आवश्यक ज्ञान र सीप हुनुपर्ने, उपचारमा ढिलाइ न्यूनिकरण गर्नुपर्ने तथा प्रभावकारी उपचार र दीर्घकालीन व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार विश्वभर विश्व दम दिवस मनाइएको हो। नेपाल तथा विश्वभर दम रोगको पहिचान र उपचारमा रहेका समस्यालाई सम्बोधन गर्न यस वर्षको विश्व दम दिवसको नारा 'दम भएका सबैलाई एन्टी–इन्फ्लामेटरी इनहेलरको पहुँच: अहिलेको प्रमुख आवश्यकता' रहेको छ।

प्रकाशित: २३ वैशाख २०८३ १८:५८ बुधबार