सोसल मिडिया इन्फ्लुएन्सर तथा अभिनेत्री अञ्जली अरोरालाई भारतको कानपुरमा आयोजित ‘नगाडा नाइट्स’ कार्यक्रमका आयोजकले एक करोड २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग गर्दै ‘लिगल नोटिस’ पठाएका छन्।
निर्धारित समयभन्दा ढिलो प्रस्तुति दिएको र सहमतिअनुसार पूरा समय स्टेजमा नबसेको आयोजकको आरोप छ। यस विवादमा दुवै पक्षले आ-आफ्ना दाबी सार्वजनिक गरेका छन्।
आयोजकका अनुसार अक्टोबर १५ मा आयोजित कार्यक्रममा अञ्जलीले ४५ मिनेट प्रस्तुति दिने सहमति भएको थियो। तर, उनले करिब १२ मिनेटमै स्टेज छाडेको आयोजकको आरोप छ। उनीहरूले यस विषयमा प्रहरीमा उजुरी दिँदै एफआईआर दर्ता गर्न पनि माग गरेका छन्।
आयोजकका अनुसार अञ्जलीको प्रस्तुति शुल्क तीन लाख भारतीय रुपैयाँ तय भएको थियो। उनीहरूले दुई लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको र अञ्जलीसहित उनको टोलीको हवाई यात्रा, बसोबास तथा खानाको खर्चसमेत बेहोरेको बताएका छन्।
कार्यक्रमपछि प्रायोजकले भुक्तानी रोकेकाले करिब २० लाख भारतीय रुपैयाँ आर्थिक क्षति भएको उनीहरूको दाबी छ। आयोजकले आर्थिक क्षतिसँगै आफ्नो व्यावसायिक प्रतिष्ठामा पुगेको असरका लागि पनि क्षतिपूर्ति माग गरेका छन्।
कार्यक्रमका आयोजकमध्येका अमन निगमले ‘कच्चा बदाम’ गीत बजाउँदा अञ्जली असन्तुष्ट भएको र व्यवस्थापन टोलीसँग विवाद भएपछि स्टेज छाडेको आरोप लगाएका छन्। यही गीतले अञ्जलीलाई सामाजिक सञ्जालमा व्यापक पहिचान दिलाएको थियो। तर, अञ्जलीले गीतप्रति आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारेकी छन्।
अक्टोबर १९ मा इन्स्टाग्राममा लगातार तीन भिडियो सार्वजनिक गर्दै अञ्जलीले कार्यक्रमका क्रममा आफ्नो सुरक्षा र व्यक्तिगत गोपनीयतामा ध्यान नदिइएको आरोप लगाएकी थिइन्। उनका अनुसार होटल पुगेपछि धेरै मानिस उनको कोठासम्म आएका थिए।
कोठाको ढोकाको घण्टी बारम्बार बजाइएको र फोटो खिच्न भन्दै मानिसहरू कोठामा आउँदा आफू असहज भएको उनले बताएकी थिइन्। आयोजक पक्षले भने सुरक्षा व्यवस्थासम्बन्धी उनका आरोप अस्वीकार गरेको छ।
अञ्जलीले कानपुरका बासिन्दालाई अपमान गर्ने आफ्नो उद्देश्य नरहेको पनि स्पष्ट पारेकी छन्। उनका अनुसार कार्यक्रमस्थलमा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदा आफ्नो भनाइलाई गलत अर्थ लगाइएको हो। उनले आफ्नो आपत्ति सहरका सबै बासिन्दाप्रति नभई आफूलाई असहज बनाउने व्यक्तिहरूप्रति लक्षित रहेको बताएकी छन्।
यसैबिच, अञ्जलीले पनि अक्टोबर २२ मा आयोजकलाई ‘लिगल नोटिस’ पठाएको बताइएको छ। उनले अब सामाजिक सञ्जालमा विवादबारे थप बहस नगरी कानुनी माध्यमबाट जवाफ दिने बताएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले अहिलेसम्म एफआईआर दर्ता गरेको पुष्टि भएको छैन।
प्रकाशित: ७ कार्तिक २०८३ ०९:२१ शनिबार





