बालकृष्ण गजुरेलकाे ‘मञ्जरा’ समकालीन नेपाली समाजका जटिल यथार्थ, मानवीय संवेदना, सामाजिक विसङ्गति, राजनीतिक सङ्क्रमण तथा आध्यात्मिक चेतनालाई एकै सूत्रमा गाँसेर लेखिएको विचारप्रधान उपन्यासका रूपमा देखापर्छ।
यो कृति मनोरञ्जनका लागि मात्र सिर्जित आख्यान होइन; बरु व्यक्ति, समाज, समय, दर्शन र अस्तित्वका गम्भीर प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने उद्देश्य बोकेको चेतनामूलक कृति हो। यस समालोचनामा उपन्यासलाई कुनै पूर्वाग्रही दृष्टिकोणबाट होइन, निष्पक्ष दृष्टिले सङ्क्षिप्त मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ।
उपन्यासको प्रारम्भमै लेखकले कर्म, समय र जीवनप्रतिको सनातन दार्शनिक दृष्टिकोणलाई प्रस्तुत गरेका छन्। "आज नसकिएको काम भोलि गरौँला" भन्ने सामान्य मानवीय सोचलाई विस्तार गर्दै लेखकले "यदि कुनै कर्म यस जन्ममा अधुरो रह्यो भने त्यसको उत्तरदायित्व अर्को जन्मसम्म पुग्न सक्छ" भन्ने तर्क प्रस्तुत छन्।
यस प्रकार उपन्यासको मूल आधार नै समय, कर्म र अस्तित्वबीचको सम्बन्ध हो। सनातन दर्शनका प्रमाणित र वैज्ञानिक पक्ष स्वीकार्दै लेखकले अन्धरूढिवादबाट टाढा रहनुपर्ने धारणा अघि सारेका छन्। यसले कृतिलाई उनले मान्यतामा आधारित धार्मिकतामा मात्रै नभएर विवेकपूर्ण आध्यात्मिक चिन्तनको धरातलमा उभ्याउने प्रयत्न गरेका छ।
"मञ्जरा" मा सपना, भोग, धर्म, चेतना र जीवनदर्शनका अनेक आयाम परस्पर अन्तरसम्बद्ध रूपमा प्रस्तुत भएका छन्। विशेषतः लिपिसम्बन्धी लेखकको अवधारणा अत्यन्त मौलिक र चिन्तनशील देखिन्छ। लेखकका अनुसार लिपि भाषिक अभिव्यक्तिको माध्यम मात्र होइन; ज्ञान, विज्ञान, साहित्य, दर्शन, गणित, सूत्र, सिर्जना र सभ्यताको मूल आधार हो।
लिपिको सदुपयोगले प्रेम, स्नेह, सद्भाव, ममता, अनुसन्धान र पुरुषार्थलाई जन्म दिन्छ भने यसको दुरुपयोगले युद्ध, अपराध, अनैतिकता, छाडातन्त्र, हिंसा र विनाश निम्त्याउँछ। यस दृष्टिले लिपि मानव सभ्यताको मेरुदण्ड हो भन्ने सशक्त धारणा उपन्यासमा अभिव्यक्त भएको छ।
लेखकले अज्ञानताको मूल कारण पनि लिपि र इतिहाससँगको विच्छेद मानेका छन्। कुनै समाजले आफ्नो लिपि, इतिहास, मूल्य र सांस्कृतिक चेतना गुमाउँदा त्यो समाज क्रमशः कमजोर बन्दै जान्छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ। यसले उपन्यासलाई सांस्कृतिक पुनर्जागरणको पक्षमा उभ्याएको छ। लेखकले पुरानो दर्शनका प्रमाणित पक्षलाई आधुनिक वैज्ञानिक चेतनासँग जोडेर हेर्ने प्रयत्न गरेका छन्, जसले कृतिलाई मौलिक वैचारिक उचाइ प्रदान गरेको छ।
उपन्यासमा प्रकृतिसम्बन्धी लेखकको दृष्टिकोण पनि विचारोत्तेजक छ। प्रकृतिमा न्याय होइन, शक्ति र नियमको शासन हुन्छ भन्ने अवधारणा प्रस्तुत गर्दै उनले बाघले बाख्रा खानु, सिकारीले बाघ मार्नु, पृथ्वीले सूर्यको परिक्रमा गर्नु जस्ता उदाहरण दिएका छन्।
यी उदाहरणहरूबाट लेखकले शक्तिशाली, सक्षम र जीवनमुखी बन्ने प्रेरणा दिन खोजेका छन्। यस दृष्टिले पीडामा अल्झिरहनुभन्दा समाधानको खोज, सङ्घर्षमा रुमलिनुभन्दा उपाय र कौशलको विकास तथा परिस्थितिसँग जुध्ने सामर्थ्य नै जीवनको सही मार्ग हो भन्ने सन्देश कृतिले दिन्छ।
सनातन दर्शन र बौद्ध दर्शनका साझा मूल्य समेत लेखकले समेटेका छन्। दुवै दर्शनको अन्तिम लक्ष्य मानवको आन्तरिक शान्ति र सुख हो भन्ने निष्कर्ष उपन्यासमा प्रस्ट देखिन्छ।
समाजको विकास भौतिक उपलब्धिभन्दा बढी दर्शन र चेतनाको विकासमा निर्भर हुन्छ भन्ने विश्वास लेखकको रहेको देखिन्छ। यसैले उनी दृश्यात्मक परिवर्तनभन्दा चेतनात्मक रूपान्तरणलाई बढी महत्त्व दिन्छन्।
उपन्यासको वैचारिक गहिराइबारे स्वयं लेखकले पनि आफ्नो मन्तव्यमा स्वीकारेका छन्,'मञ्जरा' केवल एउटा पुस्तक होइन; यो मेरो चेतनाको ऐना हो। यो समय, कर्म र अस्तित्वसँग गरिएको मौन तर जीवन्त संवाद हो। हामी प्रायः 'भोलि' को सान्त्वना बोकेर हिंड्छौं तर समय कसैलाई पर्खँदैन। यदि कर्मको कुनै त्यान्द्रो अधुरो रह्यो भने के त्यो भार अर्को जुनीसम्म बोकिरहनुपर्छ? के मुक्ति सम्भव छ? यी प्रश्नहरूको गहिराइमा पसेर मैले 'मञ्जरा' को संसार बुनेको छु।"
यस स्वीकारोक्तिबाट नै उपन्यासको वैचारिक धरातल कति गहिरो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। यहाँ कथाभन्दा विचार, घटनाभन्दा चेतना र मनोरञ्जनभन्दा आत्ममन्थनलाई प्राथमिकता दिइएको छ।
यस सन्दर्भमा डा. नयाँघरेको मन्तव्य पनि उल्लेखनीय छ। उनका अनुसार, "यो नौलो कृतिले नेपाली मस्तिष्कमा जमिबसेको समकालीन यथार्थ प्रस्फुटित गराउँदै पुनर्निर्माणको प्रक्रियामार्फत मौलिक आधुनिकीकरणको मार्ग देखाएको छ। यसले पाठकलाई प्रेम, भोग, असमानता, राजनीति, दर्शन, नीति, प्रकृति र संस्कृतिका आध्यात्मिक मौलिकताका आयामहरू बुझ्न प्रेरित गर्नेछ। दिमागको गहिराइबाट तयार पारिएको 'मञ्जरा' वर्तमानको एक पठनीय कृति बन्नेमा कुनै शङ्का छैन।"
यस मन्तव्यले उपन्यासको मूल्य र उद्देश्यलाई प्रभावकारी रूपमा स्पष्ट पारेको छ। उनले यसमा कहीँ अरूको पीडालाई आफ्नो पीडामा बदलेका छन् भने कहीँ आफ्नो पीडालाई अरूको पीडामा बद्लेका छन्। यो उनको वैशिष्टय हो। "आफ्नै देशमा शरणार्थी" शीर्षकमा पुगेपछि उनी मेलम्ची खानेपानी आयोजनामा बनेको ड्याम फुट्दा त्यस पानीले घरजग्गा बगाएर बिजोग खेप्न बाध्य भएकाहरूको वर्णन गर्दै लेख्छन्, "हामी त सक्कियौँ सक्कियौँ। सन्तानहरू शरणार्थी बनेँ।" "आमाले रुञ्चे बोलीमा सुनाउनुभयो।" "ज्यान बँच्यो आमा। कसो नकमाइएला! म छु नि!" बाको मन मेरा कुराले ढुक्क भएन कि!
थप्नुभयो- "बाबु सबै सक्कियो! अब बाँच्ने कुनै आधार छैन।"
" बा नआत्तिनुस्। सास छउन्जेल आशा रहन्छ, भन्छन्। धनसम्पत्ति फेरि पनि कमाइन्छ। हजुरहरूलाई यस्तो विपद्मा पनि सकुशल भेटेँ। अहिलेलाई यति भए पुग्यो।"
यस उपन्यासको मुटुभागको धमनी हो यो संवाद। यसले उपन्यासलाई जीवन्त बनाएको छ। हुन त यस्ता अनेकौँ मर्माहत प्रसङ्ग यहाँ अङ्गका रूपमा जीवन्त छन्।
यसैगरी आत्मविश्वास शीर्षकमा एउटा वाक्य छ - "आमाहरूलाई सन्तानले हारेको मन पर्दैन।"
वास्तवमा भन्नु पर्दा कुनै अभिभावकलाई आफ्ना सन्तानले हारेको मन पर्दैन। चाहे त्यो घरका अभिभावकलाई होस्, चाहे वडाका अभिभावकलाई होस्, चाहे नगरकालाई होस्, चाहे प्रदेशकालाई होस्, चाहे राष्ट्रका अभिभावकलाई नै किन नहोस्।
यसै प्रसङ्गमा अलि अगाडि एउटा वाक्य छ- पुरोहितले मन्त्र पढ्दै आग्रह गरे, "म मन्त्र पढ्छु, हजुर फूल अक्षताले पूजा गर्नुस्।" यहाँ पुरोहित (=लोकको हित चाहने व्यक्ति) सबैको कल्याणका लागि कार्य गर्ने विद्वान् जसका विना वैदिक कर्म अधुरा हुन्छन् तिनलाई होच्याएर "...आग्रह गरे" भनेका छन् भने उनीबाट चाहिँ "हजुर फूल अक्षताले पूजा गर्नुस्।" भन्ने आदरणीय वाक्यको प्रयोग गरेका छन्।
यसरी प्रयोग नगरेर पुरोहितले आग्रह गर्नुभयो लेखिदिएको भए वैदिकहरूका प्रति आदर व्यक्त गरेको देखिने थियो। यहाँ यजमानहरू आदरणीय हुन् र पुरोहितहरूचाहिँ अनादरणीय हुन् जस्तो अर्थ लाग्न सक्ने देखिन गएको छ, यसको विपरीत हुनुपर्थ्यो किनकि हरेक यजमानका लागि पुरोहितहरू आदरणीय नै हुन्छन्। आदर गर्न सकिँदैन भने पुरोहित बनाउनुको अर्थ पनि रहँदैन। यस्ता वाक्यहरू नरहेका भए सुनमा सुगन्ध हुने थियो। यसको अर्थ कृतिमा कुनै दोष हुनै हुँदैन भन्ने हुँदैन। सकेसम्म दोषबाट बँच्ने कोसिस गर्नुपर्छ भन्ने हो।
उपन्यासका पात्रहरू कुनै व्यक्तिगत जीवनका प्रतिनिधि मात्र होइनन्; तिनीहरू समग्र समाजका प्रतिनिधि स्वरूप उपस्थित भएका छन्। द्वन्द्वकालका घाउ, जातीय तथा वर्णव्यवस्थाबाट उत्पन्न विभेद, समाधान, समझदारी, प्रेम, सामाजिक असमानता, राजनीतिक उथलपुथल र परिवर्तनका आकाङ्क्षाहरू पात्रहरूको जीवनसँग गाँसिएका छन्। उनीहरूको व्यक्तिगत सङ्घर्ष राष्ट्रिय तथा सामाजिक यथार्थसँग जोडिएकाले पात्रहरू जीवन्त र विश्वसनीय बनेका छन्। यसैले उपन्यास जति पढ्यो उति पढौँपढौँ लाग्ने छ।
उपन्यासको अर्को उल्लेखनीय पक्ष यसको काव्यात्मकता हो। आख्यानका बीचबीचमा आएका गीत तथा कविताहरूले प्रसङ्गहरूलाई भावनात्मक र कलात्मक उचाइ दिएका छन्। यद्यपि गीत–कविताको सङ्ख्या पर्याप्त नभएकाले यसलाई चम्पूकाव्य भन्न सकिँदैन तथापि गद्य र पद्यको समन्वयले कृतिलाई विशिष्ट सौन्दर्य प्रदान गरेको छ।
भाषा र शैलीका दृष्टिले ‘मञ्जरा’ सरल, प्रवाहपूर्ण र अर्थगर्भित छ। लेखकले अनावश्यक अलङ्कारिक प्रदर्शनभन्दा विचारको स्पष्टता र भावको प्रभावलाई प्राथमिकता दिएका छन्।
प्रतीक, बिम्ब तथा साङ्केतिक अभिव्यक्तिको संयमित प्रयोगले उपन्यासलाई कलात्मक गरिमा प्रदान गरेको छ। संवादहरू पात्रअनुकूल छन् र उनीहरूको मनोविज्ञानलाई उद्घाटित गर्न सफल भएका छन्।
उपन्यासमा राजनीतिक अस्थिरता, सामाजिक अन्याय, नैतिक मूल्यको ह्रास, वर्गीय असमानता, भ्रष्टाचार, द्वन्द्वकालीन पीडा तथा परिवर्तनको आकाङ्क्षालाई प्रत्यक्ष उपदेशका रूपमा होइन, पात्रहरूको अनुभव र कथानकको स्वाभाविक प्रवाहमार्फत प्रस्तुत गरिएको छ। यसले पाठकमाथि कुनै निष्कर्ष थोपर्दैन; बरु आफैँ विचार गर्न प्रेरित गर्छ। यही गुणले उपन्यासलाई वैचारिक साहित्यको स्तरमा उभ्याएको छ।
यस कृतिको अर्को सशक्त पक्ष आत्मचिन्तन र चेतनाको खोज हो। पात्रहरू बाह्य समाजसँग मात्र होइन, आफ्नै अन्तर्मनसँग पनि निरन्तर संवाद र सङ्घर्ष गरिरहेका देखिन्छन्। यसकारण उपन्यास सामाजिक यथार्थवादमा सीमित नरही दार्शनिक र आध्यात्मिक विमर्शतर्फ उन्मुख भएको छ। व्यक्ति, समाज, प्रकृति र समयबीचको सम्बन्धलाई गम्भीर रूपमा प्रस्तुत गर्नु यसको उल्लेखनीय उपलब्धि हो।
उपन्यासमा समाजका विकृति र विसङ्गतिहरूको मात्र चित्रण गरिएको छैन; तिनको विकल्प र रूपान्तरणको सम्भावनाको पनि खोज गरिएको छ। लेखक आलोचनामा मात्र सीमित छैनन्, सकारात्मक परिवर्तनको सम्भावना र आशाको ढोका पनि खोल्छन्। यही कारणले कृति निराशाको होइन, जागरण र पुनर्निर्माणको उपन्यास बनेको छ। यस रचनाको अर्को विशिष्ट पक्ष विज्ञान र अध्यात्मबीचको समन्वय हो।
गाउँ, सहर, हिमाल, पहाड र तराईका विविध जीवन परिवेश, विगतको राजनीतिक अवस्थाले सिर्जना गरेका घाउ, योग, ध्यान, परिवर्तित सामाजिक चेतना तथा रूढिवादमाथिको प्रहारसँगै लेखकले वेदविज्ञान र भौतिकविज्ञानलाई परस्पर विरोधी होइन, पूरक रूपमा हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन्।
आधुनिक मानिस आध्यात्मिक चेतनाबाट क्रमशः टाढिँदै गएको अवस्थामा प्रमाणित आध्यात्मिक ज्ञानमार्फत शान्ति र सन्तुलनतर्फ उन्मुख गराउनु पनि साहित्यको दायित्व हो भन्ने लेखकको मान्यता यस कृतिमा स्पष्ट रूपमा अभिव्यक्त भएको पाइन्छ।
यसरी ‘मञ्जरा’ समकालीन नेपाली समाजको यथार्थ, मानवीय चेतना, आध्यात्मिक खोज र सामाजिक रूपान्तरणको आकाङ्क्षालाई केन्द्रमा राखेर लेखिएको प्रभावशाली विचारप्रधान उपन्यास हो।
अन्त्यमा भन्नुपर्दा लेखकको पहिलो कृति भएर पनि ‘मञ्जरा’ ले जुन वैचारिक परिपक्वता, दार्शनिक गहिराइ, सामाजिक संवेदनशीलता र साहित्यिक सम्भावना प्रस्तुत गरेको छ, त्यो आफैँमा प्रशंसनीय उपलब्धि हो। उनका आगामी कृतिहरू अझ परिष्कृत, परिमार्जित र व्यापक जीवनदृष्टिसहित नेपाली साहित्यमा विशिष्ट स्थान बनाउन सफल हुने विश्वास यस उपन्यासले जगाउँछ। प्रतिकूल परिस्थितिले उनका सिर्जनात्मक ऊर्जा र मूल्यवान् समयलाई कुण्ठित गर्न नपाओस्; उनको कलम अझ जीवन्त, सशक्त र समाजोपयोगी रूपमा निरन्तर गतिशील रहोस्, हार्दिक शुभकामना!
प्रकाशित: २४ श्रावण २०८३ १३:२८ आइतबार





