११ श्रावण २०८३ सोमबार
image/svg+xml
ब्लग

समाचारको खोजीमा

'नो न्युज इज गुड न्युज' अर्थात् कुनै पनि समाचार नहुनु भनेको राम्रो समाचार हो रे। यस्तो भनाई छ। हो, रहेछ कि क्या हो। दशैँका बेला समाचारको खडेरी परेको छ। कति निष्ठुरी छौँ हामी सञ्चारकर्मी, समाचार खोज्दैछौँ। दशैँका बेला आउने समाचार भनेको दुर्घटना, झगडाको मात्रै हो। यस्तो समाचार आउनुभन्दा त नआउनु नै राम्रो। यस्ता घटना त हुनुभन्दा नहुनु नै राम्रो ! तर पनि समाचार पस्कनुपर्ने जागिर खाएपछि समाचार त लेख्नै पर्‍यो। तर खै त समाचार ?

नागरिकन्युजसित आवद्ध हुँदाको एक वर्षको अवधिमा सबैभन्दा गार्‍हो दुई पटक महसूस भयो- एक पटक पूरै डिजाइनको कन्सेप्ट बनाउँदा अनि अर्को अहिले। एक वर्षअघि नेपाल रिपब्लिक मिडियामा आएपछि सबैभन्दा चुनौतिपूर्ण काम थियो- अहिले चलिरहेका साइटभन्दा बिल्कुलै पृथक र भिजिटरहरुलाई सजिलो हुने गरी साइटको डिजाइन बनाउनु। यसका लागि विश्वभरका अनलाइनहरुको गहन अध्ययन गरेका थियौँ हामीले महिनौँसम्म। साथी कुञ्जन र कृष्णसित रातरातभर बसेर हामीले पटक पटक डिजाइन परिवर्तन गर्दै अन्त्यमा यो स्वरुपमा आएका थियौँ। 

'एक पटक सिस्टम बसिसकेपछि खासै गार्‍हो हुँदैन,' हामीले यही सोचेका थियौँ। भएको पनि त्यस्तै थियो। एउटा निश्चित ढाँचा बनिसकेपछि त्यसमा सामाग्री हाल्ने मात्र त हो नि। तर सबै साथीहरु विदामा बस्दा सामाग्रीको जोहो गर्न कम्ता गार्‍हो हुने रहेनछ। जिल्लातिरका संवाददाताहरुलाई  व्यवस्थापनले सर्कुलर पठाइसकेको थियो- दशैँका बेला अनलाइन बन्द हुँदैन, समाचार पठाउनू। तर संवाददाताहरुलाई पनि दशैँ लागेको छ। वा भनौँ दशैँको वातावरणले उनीहरुलाई समाचार लेख्‍न उत्प्रेरित गरिरहेको छैन।

औपचारिक समाचार मात्र समाचार हुँदैन। दशैँका बेला उदघाटन, सभा, गोष्ठी हुँदैन। समाचार 'हुने' चीज मात्र हैन, खोज्ने चीज पनि हो। यो नबुझेसम्म हाम्रो समाचारको ढाँचा पुरातनै रहिरहनेछ। खोजे दशैँमा पनि मनग्यै समाचार भेटिन्छन्। उदाहरणका लागि चितवनबाट रमेशकुमार पौडेलको मासुको व्यापार आधा घटेको समाचारलाई लिन सकिन्छ। यो समाचार आज पाठकहरुले रुचाएका समाचार मध्ये एक हो। चितवनबाटै चाँदनी हमाल, विराटनगरबाट अजित तिवारीबाहेक अरु संवाददाताको समाचार आज आएन।

फोटो पत्रकार भास्वर ओझाले बिहानै फोटो उपलब्ध गराएर मात्र, नभए फोटोको पनि संकट नै पर्ने थियो आज। जिल्लातिरबाट समाचार नआए पनि दशैँको चहलपहलका फोटोमात्रै आइदिए पनि हुन्थ्यो नि जस्तो पनि लाग्छ मनमा। फेरि दशैँ जस्तो चाडमा रमिरहेकाहरुलाई सँधै कामैकाम मात्र गर्नुपर्छ भन्ने पनि त छैन, आराम पनि त चाहियो होला नि भन्ने मनमा पनि आउँछ।  सुनसान कार्यालय परिसरमा समाचारशून्य स्थितिसित जुध्दै अनलाइनको संसारमा रम्दैछु म।

अनि सम्झँदैछु अनलाइन समूहका सबै साथीहरुलाई। उनीहरुको दशैँ रमाइलो होस्। तपाईँहरुको दशैँ पनि मंगलमय रहोस्। umesh.shrestha@nagariknews.com

प्रकाशित: ११ आश्विन २०६६ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App