२५ श्रावण २०८३ सोमबार
image/svg+xml
प्रवास

‘गौथली’ को बेलायतमा असाधारण सुरुवात, सबै शोमा हाउसफुल

नेपाली सामाजिक कथानक चलचित्र ‘गौथली’ ले शुक्रबार, ७ अगस्ट २०२६ मा बेलायतमा प्रदर्शन भएलगत्तै धेरैजसो सिनेमा घरहरूमा हाउसफुल र लगभग पूर्ण सिटका साथ असाधारण सुरुवात गरेको छ।

दर्शकहरूको अभूतपूर्व प्रतिक्रियाका कारण सिनेवर्ल्ड सिनेमा घरहरूमा थप शोहरू थपिएका छन्। बेलायतमा चलचित्रको प्रदर्शन अवधि अब बिहीबार, १३ अगस्टसम्मका लागि बढाइएको छ।

डा. कपिल रिजालको निर्देशन र डा. भोला रिजालको कथा लेखनमा बनेको ‘गौथली’ ग्रामीण नेपालको पृष्ठभूमिमा आधारित एक शक्तिशाली नेपाली सामाजिक चलचित्र हो। यो चलचित्र गरिबी, बालविवाह र गहिरो रूपमा गाडिएका सामाजिक मान्यताहरूका बाबजुद आफ्नो शिक्षालाई निरन्तरता दिन दृढ संकल्पित एक युवतीको कथामा आधारित छ।

आफ्नो भावुक कथावस्तु, संगीत र उत्कृष्ट छायांकनमार्फत चलचित्रले शिक्षा, महिला सशक्तिकरण, बालविवाह, लैंगिक असमानता र सामाजिक रूपान्तरणका विषयहरूलाई खोतलेको छ। साथै, यसले राम्रो र बढी आत्मनिर्भर जीवनका लागि संघर्ष गर्ने महिलाहरूको सहनशीलतालाई उजागर गर्दछ।

सुमन गिरी र डा. कपिल रिजालद्वारा निर्मित यस चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर र रवीन्द्र झा जस्ता वरिष्ठ तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ। ‘गौथली’ नेपालमा १७ जुलाई २०२६ मा प्रदर्शन भएको थियो र त्यसपछि यसले आफ्नो सफल व्यावसायिक यात्रा जारी राखेको छ।

अल्डरशटको उद्घाटन शोमा विशिष्ट अतिथिहरूको उपस्थिति

७ अगस्टका दिन सिनेवर्ल्ड अल्डरशटमा आयोजित पहिलो दिनको प्रदर्शनमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, सैनिक सहचारी बिग्रेडियर जनरल अनुप शाह लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

चलचित्र हेरिसकेपछि पाहुनाहरूले यसको छायांकन, कथावस्तु र यसका महत्त्वपूर्ण सामाजिक विषयहरू, विशेष गरी शिक्षा, महिला सशक्तिकरण र हानिकारक सामाजिक परम्पराहरूले सिर्जना गरेका चुनौतीहरूमाथि गरिएको केन्द्रित प्रयासको प्रशंसा गरे।

कार्यवाहक राजदूत दुवाडीले यो चलचित्रले सामाजिक विषय र रूपान्तरणलाई हृदयस्पर्शी भावका साथ उजागर गरेको टिप्पणी गरे। ब्रिगेडियर जनरल अनुप शाहले चलचित्र “राम्रोसँग निर्देशित, उत्कृष्ट बहाव र मर्मस्पर्शीअभिनययुक्त” भएको बताए।

चलचित्र समीक्षक जुलिया कर्किन्डेलले अन्नपूर्णको काखमा गरिएको सुन्दर छायांकन र परम्परा तथा आकांक्षाबीच अल्झिएको समाजको शक्तिशाली प्रस्तुतिको प्रशंसा गर्दै ‘गौथली’ लाई एक “आकर्षक र शिक्षाप्रद” चलचित्रका रूपमा वर्णन गरिन्।

उनले ‘गौथली’को भूमिकामा सिमरन खड्का र ‘ठुले’को भूमिकामा अरुण क्षेत्रीको अभिनयको प्रशंसा गर्दै शिक्षा, लैंगिक असमानता, करुणा र सहनशीलता जस्ता चलचित्रका विषयवस्तुहरूलाई उजागर गरिन्। “शिक्षित महिलाहरू शान्त नेता बन्छन्, जसले आफ्ना लागि सफलता हासिल गर्नुका साथै आफ्नो वरपरका अरूलाई पनि माथि उठाउँछन्। रिजालको शक्तिशाली पटकथामा डिकेन्सको सामाजिक टिप्पणीको झल्को पाइन्छ, जसमा यस्तै महाकाव्यिक मेलोड्रामाटिक शैली छ जसले यो चलचित्रलाई निकै आकर्षक बनाउँछ।”

कर्किन्डेलले अन्ततः शिक्षालाई नै गौथलीलाई रूपान्तरण र सशक्त बनाउने वास्तविक शक्तिका रूपमा वर्णन गर्दै चलचित्रको शक्तिशाली सामाजिक सन्देश र भावनात्मक रूपमा लोभ्याउने शैलीको प्रशंसा गरिन्।

कन्सल्टेन्ट डेभलपमेन्टल पेडियाट्रिसियन डा. यमुना आचार्यले थपिन्, “एक अटिजम विशेषज्ञ र महिलाको रूपमा, मलाई कुनै शंका छैन कि यो चलचित्रले अभिभावक, जीवनसाथी, दाजुभाइ-दीदीबहिनी र व्यापक समाजले भोग्नुपरेका चुनौती र कठिनाइहरूका बारेमा मूल्यवान अन्तर्दृष्टि प्रदान गर्नेछ। साथै यी चुनौतीहरूलाई कसरी करुणा र सहनशीलताका साथ बुझ्न र सम्बोधन गर्न सकिन्छ भन्ने कुरालाई पनि उजागर गर्नेछ।”

टिया आचार्यले चलचित्र ‘गौथली’लाई संघर्ष, साहस र दृढ संकल्पको कथा प्रस्तुत गर्ने एक प्रभावशाली कृति भएको बताएकी छन्। उनका अनुसार यस फिल्मले समाजमा उठाइएका महत्वपूर्ण विषयहरूलाई उजागर गर्दै समाधानतर्फ सोच्न प्रेरित गरेको छ।

उनले फिल्मको अभिनय र निर्देशनले सशक्त तथा भावनात्मक कथा निर्माण गरेको उल्लेख गर्दै दर्शकलाई गहिरो रूपमा प्रभावित पार्न सफल भएको धारणा व्यक्त गरिन्। आचार्यका अनुसार सबै पुस्ताका दर्शकहरूले चलचित्रलाई रुचिका साथ अवलोकन गरेका छन् र यसले जीवनमा प्राप्त अवसरहरूको महत्व बुझ्न प्रेरित गरेको छ।

त्यसैगरी, उनले अभिनय, निर्देशन तथा निर्माण पक्षलाई सराहनीय बताउँदै उपयुक्त कलाकार छनोटमार्फत फिल्मलाई न्याय दिलाएकोमा कास्टिङ निर्देशकको विशेष प्रशंसा गरिन्।

नेपाली समुदाय र व्यापक बेलायती दर्शकहरूबाट प्राप्त असाधारण प्रतिक्रिया नेपाली सिनेमा र मौलिक कथाप्रतिको बढ्दो रुचिको प्रमाण हो।

गौथली टिम चलचित्र हेर्न आउने, चलचित्रका बारेमा जानकारी सेयर गर्ने, साथीभाइ तथा परिवारलाई हेर्न प्रोत्साहित गर्ने र जुनसुकै माध्यमबाट चलचित्रलाई सहयोग गर्ने सबैप्रति निर्देशक डा. कपिल रिजालले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित: २५ श्रावण २०८३ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App