कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले आगामी सिजनका लागि आवश्यक रासायनिक मलको पर्याप्त आपूर्ति तथा सहज वितरण सुनिश्चित गर्न कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आग्रह गरेकी छन्।
मन्त्री चौधरीले बुधबार कार्यवाहक प्रधानमन्त्री वाग्लेसँग भेटवार्ता गर्दै आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल गरेकी हुन्।
छलफलमा आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको पर्याप्त व्यवस्था गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। मल खरिदका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरी समयमै किसानसम्म मल पुर्याउने विषयमा पनि छलफल भएको जनाइएको छ।
कृषिमन्त्री चौधरीले मलको अभाव हुन नदिन समयमै खरिद प्रक्रिया अघि बढाई सहज वितरणको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।
जवाफमा अर्थमन्त्री वाग्लेले आवश्यक स्रोत व्यवस्थापन तथा आपूर्तिसम्बन्धी विषयमा ध्यान दिने बताए।
भेटवार्ताका क्रममा विश्व वन्यजन्तु कोषले रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराएको १ करोड ५० लाख रुपैयाँ कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन्।
प्रकाशित: ७ आश्विन २०८३ १८:३७ बुधबार





