दिगो रोजगारी सिर्जनाका लागि निर्माण क्षेत्रको वास्तविक मागका आधारमा युवाहरूलाई सीपमूलक तालिम दिई सिधै रोजगारीसँग जोड्न दुई मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासङ्घबिच सहकार्य हुने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा बिहीबार महासङ्घका पदाधिकारीहरूबिच भएको छलफलमा यस्तो सहमति भएको हो।
छलफलबाट निर्माण क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न बजारको मागमा आधारित सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने र तालिमप्राप्त जनशक्तिलाई निर्माण उद्योगमै रोजगारीका अवसरहरूसँग आबद्ध गराउने निर्णय गरिएको छ।
रोजगारी सिर्जना र दिगो रोजगारी प्रणाली निर्माणका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासङ्घबिच निरन्तर संवाद, समन्वय र सहकार्य अघि बढाउने सहमति भएको छ।
छलफल कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयका सचिवहरू तथा निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: २१ श्रावण २०८३ १९:१२ बिहीबार





