१० मंसिर २०८३ बिहीबार
image/svg+xml
सम्पादकीय

हिंसाविरुद्ध परिणाममुखी अभियान आवश्यक

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष ‘न्याय सुनिश्चित गरौं; पीडितको संरक्षण गरौं; दण्डहीनताको अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको छ। सन् २००० फेब्रुअरी ७ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो। त्यससँगै हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा अन्त्य दिवस विश्वभर सञ्चालन हुन्छ।  

महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानले हिंसाको स्वरूप, त्यसको सामाजिक प्रभाव र राज्यको दायित्वबारे बहस सिर्जना गर्छ। तर वर्षैपिच्छे अभियान सञ्चालन हुनु र हिंसाका घटना निरन्तर भइरहनुले हाम्रो समाजमा समस्या कति गहिरो छ भन्ने देखाउँछ।

संयुक्त राष्ट्रसंघीय महिला निकाय (युएन वुमन) को सन् २०२५ को प्रतिवेदनले सन् २०२४÷२५ मा नेपालभर लैगिंक हिंसाका २१ हजार ६६७ वटा घटना रिपोर्ट गरिएका थिए, जसमध्ये ८१ प्रतिशत घरेलु हिंसासँग सम्बन्धित थिए। प्रतिवेदनअनुसार रिपोर्ट गरिएका यौन हिंसाका पीडितमध्ये ६४ प्रतिशत १८ वर्षभन्दा कम उमेरका थिए। यो तथ्यांकलाई हेर्दा हिंसाविरुद्ध प्रतिबद्धता दोहोर्‍याउनु सकारात्मक भए पनि त्यसलाई व्यवहारमा उतार्न नसक्नु चिन्ताको विषय हो।

लैंगिक हिंसा व्यक्तिगत समस्या होइन। यो सामाजिक संरचना, शक्ति सम्बन्ध, विभेद र असमानतासँग जोडिएको विषय हो। घरभित्र हुने हिंसादेखि सार्वजनिक स्थानमा हुने दुव्र्यवहार, यौनजन्य हिंसा, मानव बेचबिखन, बालविवाह, दाइजोका नाममा हुने यातना र अनलाइन माध्यमबाट गरिने चरित्रहत्या तथा दुव्र्यवहारसम्म यसका अनेक स्वरूप छन्।

हिंसाको स्वरूप बदलिँदै जाँदा त्यसलाई सम्बोधन गर्ने राज्यको क्षमता पनि विस्तार हुनुपर्छ। विशेषगरी सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी महिलालाई धम्क्याउने, निजी तस्बिर सार्वजनिक गर्ने, चरित्रहत्या गर्ने र अनलाइनबाट निरन्तर मानसिक यातना दिने प्रवृत्ति गम्भीर बन्दै गएको छ।

हिंसाविरुद्ध कानुन नभएको होइन। संविधानले समानताको हक, महिलाको हक र सामाजिक न्यायको प्रत्याभूति गरेको छ। घरेलु हिंसा, जबर्जस्ती करणी, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलगायतका विषयमा कानुनी व्यवस्था छन् तर कानुन हुनु र त्यसले पीडितलाई न्याय दिनु फरक कुरा हुन्। कतिपय पीडित सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, आर्थिक निर्भरता र सामाजिक बहिष्करणको डरले उजुरी गर्न सक्दैनन्। उजुरी गर्नेहरू पनि प्रहरी प्रशासनको असंवेदनशील व्यवहार, अनुसन्धानमा ढिलाइ, प्रमाण संकलनको कठिनाइ र न्यायिक प्रक्रियाको लामो समयका कारण निराश हुनुपर्ने अवस्था छ। पीडितले न्याय खोज्दा थप पीडा भोग्नुपर्ने परिस्थिति अन्त्य नभएसम्म शून्य सहनशीलताको प्रतिबद्धताको अर्थ स्थापित हुँदैन।

राज्यको पहिलो दायित्व पीडितलाई सुरक्षित वातावरण उपलब्ध गराउनु हो। हिंसामा परेका महिलालाई तत्काल संरक्षण, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता र पुनःस्थापनाको व्यवस्था हुनुपर्छ। आर्थिक रूपमा परनिर्भर महिलाका लागि सुरक्षित आवास र जीविकोपार्जनको अवसर पनि उत्तिकै आवश्यक छ। पीडितलाई न्यायको प्रक्रियामा सहभागी गराउने तर त्यसपछिको जीवनयापनको जिम्मेवारी नलिने हो भने राज्यको संरक्षण अधुरो रहन्छ।

प्रभावशाली व्यक्ति, राजनीतिक पहुँच भएका व्यक्ति वा आर्थिक रूपमा सबल व्यक्तिले कानुनबाट उन्मुक्ति पाउने अवस्था रह्यो भने शून्य सहनशीलताको नीति अर्थहीन हुन्छ। हिंसाका घटनामा राजनीतिक दबाब, प्रशासनिक प्रभाव र सामाजिक प्रतिष्ठाका आधारमा अनुसन्धान प्रभावित हुनु हुँदैन। दोषी जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ। राज्यका निकायले पीडितको पक्षमा काम गर्दा मात्रै कानुनप्रतिको विश्वास बलियो हुन्छ। लैंगिक हिंसा अन्त्यको आधार महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण हो।

 शिक्षा, रोजगारी, सम्पत्तिमा अधिकार, निर्णय प्रक्रियामा सहभागिता र समान अवसरबिना हिंसामुक्त समाज निर्माण कठिन छ। विशेषगरी ग्रामीण क्षेत्र, दलित समुदाय, अपांगता भएका महिला, सीमान्तकृत समुदाय र आर्थिक रूपमा कमजोर परिवारका महिलाले भोग्ने हिंसाका स्वरूप र चुनौती फरक छन्। एउटै नीति सबैका लागि पर्याप्त हुँदैन। त्यसैले तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक छ।

तीनै तहबिच जिम्मेवारी बाँडफाँट र नियमित अनुगमन नहुँदा कार्यक्रमहरू औपचारिकतामा सीमित हुने जोखिम रहन्छ। अभियान सकिएपछि पनि हिंसाविरुद्धको राज्यको दायित्व सकिँदैन। लैंगिक हिंसा अन्त्यका लागि परिवार र विद्यालयबाटै समानता तथा सम्मानको संस्कार विकास गर्न पनि उत्तिकै आवश्यक छ।

बालबालिकालाई सानैदेखि लैंगिक समानता, व्यक्तिगत स्वतन्त्रता, आपसी सम्मान र सहमतिका विषयमा शिक्षा दिनुपर्छ। छोरालाई विशेष अधिकार र छोरीलाई सीमित जिम्मेवारी सिकाउने पारिवारिक सोचले नै विभेदपूर्ण व्यवहारलाई निरन्तरता दिइरहेको हुन्छ। हिंसा भएपछि कानुनी कारबाही गर्नु जति आवश्यक छ, हिंसा हुन नदिने सामाजिक वातावरण निर्माण गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ।  

प्रकाशित: १० मंसिर २०८३ ०६:१३ बिहीबार

Download Nagarik App