२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाबाट ३३० जना बालबालिकाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ।

युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाहरू प्रवाहमा गम्भीर बाधा पुगिरहेको छ।

अगस्ट –२ सम्ममा १७ वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरूमा ७४३ वटा सङ्क्रमणका घटना पुष्टि भएको जनाइएको छ। तीमध्ये ३३० जनाको मृत्यु भएको युनिसेफले एक विज्ञप्तिमार्फत जनाएको छ।

हरेक चार जना मृत्यु हुनेमध्ये एक जना बच्चा रहेको पुष्टि भएको छ। विशेषगरी पाँच वर्षमुनिका स–साना बच्चाहरू प्रभावित हुने गरेको जनाइएको छ।

युनिसेफका अनुसार प्रकोपले बाल्यकालको खोप, मातृ स्वास्थ्य सेवा र अन्य आवश्यक सेवाहरूमा पनि तीव्र गिरावट ल्याएको छ भने सङ्क्रमणको डर र स्वास्थ्य सुविधाहरूमा अवरोधले मानिसहरूलाई आवश्यक स्वास्थ्य पहुँचबाट टाढा रहन बाध्य पारेको छ।

‘इबोलाको प्रकोपले सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर बाधा पुर्याइरहेको’ उल्लेख गर्दै मलेरियालगायत अन्य उपचार गर्न सकिने रोगहरूका कारण बालबालिकाहरूको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु भएको युनिसेफका प्रतिनिधि जोन एग्बरले बताए।

विश्वव्यापी मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्सले बुधबार पूर्वी डीआरसीको अवस्था पहिलेभन्दा बढी गम्भीर भएको र नियन्त्रण हुने कुनै सङ्केत नभई चिन्ताजनक र अभूतपूर्व गतिमा फैलिएको चेतावनी दिएको थियो।

मंगलबारसम्म डीआरसीले मे १५ मा प्रकोप घोषणा भएदेखि एक हजार ८०१ जनाको मृत्यु भएको र तीन हजार ९७३ वटा सङ्क्रमणका घटना पुष्टि भएको रेकर्ड गरिएको जनाएको छ। सिन्ह्वा

प्रकाशित: २२ श्रावण २०८३ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App