१६ श्रावण २०८३ शनिबार
image/svg+xml
विचार

माटो, मस्तिष्क र मध्यममार्ग

चिन्तन

माटोले बाटो बिराएको छैन। बिराएको हामीले हो। हामीले माटोलाई श्रममा बाँध्यौं, बुद्धिलाई कार्यालयमा र विश्वविद्यालयलाई प्रमाणपत्रमा। त्यसपछि विकास खोज्न निस्कियौं। एक किसिमको विकास त आयो– गाउँ रित्तिनेगरी, सहरको रहर बढाउनेगरी, खेत बाँझिनेगरी। विश्वविद्यालय पनि कुनै समय भरिए तर राष्ट्रको आत्मविश्वास भरिएन। किन ? कारण जगजाहेर छ। विश्वविद्यालयले डिग्री दियो। डिग्रीले जागिर खोज्यो। जागिरले विदेश भेट्यो। विदेशले रेमिट्यान्स पठायो। रेमिट्यान्सले सिमेन्ट र बालुवाको बजार त बनायो तर देशलाई बलियो बनाउन सकेन। देशको आत्मविश्वास निर्माण भएन। त्यसैले प्रश्न फेरि विश्वविद्यालयमा ठोकिन्छ।

विश्वविद्यालय आखिर के हो ? कक्षा ? भवन ? पाठ्यक्रम ? परीक्षा ? प्रमाणपत्र ? वा ती सबैको समग्रता ? वा एउटा यस्तो चौतारो, जहाँ राष्ट्रले आफ्ना अप्ठ्यारा प्रश्नहरू बिसाउँछ?

हामी विश्वविद्यालयमा भविष्य पढाउँछौं तर भविष्य नै आयातित छ। अनुसन्धान सिकाउँछौं, जसको उज्यालो आलीसम्म पुग्दैन। नवप्रवर्तनका ब्यानर टाँस्छौं तर एक युवाले उद्यम सुरु गर्ने बाटो देख्दैन। सुशासनमाथि बहस गर्छौं, गोठमा गाई पाल्ने अर्थशास्त्र पढाउँदैनौं अनि विश्वविद्यालयकै प्रतिनिधि बनेर सोध्छौं– देश किन बनेन ? यो हामीतिरै फर्कने प्रश्न हो।

देश बन्ने आधार के हो ? केवल नीति ? बजेट ? सुशासन ? यी आवश्यक हुन् तर पर्याप्त होइनन्। यी साधन हुन् तर साध्य होइनन्। त्यसो भए केले बन्छ देश ? उत्पादन र नवप्रवर्तनले ? सायद यिनको सन्तुलनले। उत्पादन, नवप्रवर्तन र सन्तुलनका आधार हुन्– माटो, मस्तिष्क र मध्यममार्ग। माटोले उत्पादन गर्छ। मस्तिष्कले नवप्रवर्तन गर्छ र उत्पादनलाई मूल्यमा रूपान्तरण गर्छ। मध्यममार्गले उत्पादन र नवप्रवर्तनलाई सन्तुलित राख्दै न्यायोचित वितरण सुनिश्चित गर्छ। मानव सभ्यताले भोक जित्न यही सूत्र सिकेको छ।

हामीले उत्पादन किसानको जिम्मा लगायौं। नवप्रवर्तन विश्वविद्यालयको, नीति सरकारको, बजार व्यापारीको तर यी चारबिच संवाद हुनुपर्छ भन्ने कुरा बिर्सियौं। परिणामतः माटो छुट्टियो, मस्तिष्क छुट्टियो र मध्यममार्ग पुरियो। विकासले गतिको आवाज त पायो तर बाटो बिरायो। त्यसैले अधुरै रह्यो राष्ट्रनिर्माणको कथा।

यहींनेर विश्वविद्यालयको वास्तविक भूमिका सुरु हुन्छ। विश्वविद्यालयले खेत जोत्नुपर्दैन तर खेत किन बाँझो भयो भन्ने प्रश्न जोत्नैपर्छ। विश्वविद्यालयले कारखाना चलाउनुपर्दैन तर हामी किन अरूका ग्राहक मात्र भयौं भन्ने प्रश्न उठाउनैपर्छ। विश्वविद्यालयले बजार खोल्नुपर्दैन तर हामी किन मूल्य सिर्जना नगरी मूल्य तिर्ने राष्ट्र भयौं भन्ने प्रश्नको ढोका खोल्नैपर्छ। यी प्रश्न विश्वविद्यालयका हुन् भने विश्वविद्यालयको वास्तविक मूल्यांकन किसानको खेतमा, उद्योगको मेसिनमा, अस्पतालको शड्ढयामा, गाउँको विद्यालयमा, युवाको आशामा हुनुपर्छ, दीक्षान्त समारोहका सहभागीको संख्यामा होइन।

हाम्रो सबैभन्दा ठुलो समस्या स्रोतको अभाव होइन, उत्पादन र प्रविधिबिचको खाडल हो। प्रविधि प्रयोगशालामा बन्द छ। उत्पादन खेतमा एक्लै पसिना बगाइरहेछ। ती दुईबिच सेतु बन्नुपर्ने विश्वविद्यालय विशिष्टताका नाममा आफै विभाजित छ। त्यसैले विश्वविद्यालय र विकासबिच, शिक्षा र समाजबिच, उपभोग र नैतिकताबिच खाडल बढ्दै गएको छ। त्यो खाडल पुर्ने सेतु नै मध्यममार्ग हो। माटो र मस्तिष्कबिच हराएको पुल पनि त्यही हो।

विश्वविद्यालयलाई राज्यको साझा मष्तिष्क मानौं। मान्नका लागि केही उदाहरणहरू लिऔं। इतिहासको गर्भमा सुन्दर सत्यहरू भेटिन्छन्। विश्वविद्यालयहरू भवनले प्रसिद्ध बनेनन्। बरु समाजका सबैभन्दा कठिन प्रश्नलाई आफ्नै प्रश्न बनाएर प्रसिद्ध बने। समाजले भोकको प्रश्न सोध्यो, विश्वविद्यालयले कृषि अनुसन्धान जन्मायो। समाजले रोगको प्रश्न सोध्यो, विश्वविद्यालयले चिकित्सा विज्ञान जन्मायो। समाजले उद्योगको प्रश्न सोध्यो, विश्वविद्यालयले इन्जिनियरिङ जन्मायो। समाजले सूचना र सञ्चारमा तीव्रता माग्यो, विश्वविद्यालयले डिजिटल प्रविधि अपनायो। अर्थात्, विश्वविद्यालयले ज्ञानबाट समाजतिर यात्रा गरेन, समाजका प्रश्नबाट ज्ञानतिर यात्रा गर्‍यो।

त्यसैले संसारका सफल विश्वविद्यालयहरू पुस्तकालयभित्र सीमित छैनन्। ती खेतमा छन्, कारखानामा छन्, नदी किनारमा छन्, अस्पतालमा छन्, उद्योगका डिजाइन केन्द्रमा छन्, गाउँका सहकारीमा छन्। तिनले अनुसन्धानलाई जीवनको विस्तार बनाएका छन्, जीवनबाट पलायन होइन।

अमेरिकाले उन्नाइसौं शताब्दीमा एउटा असाधारण निर्णय गर्‍यो। विश्वविद्यालयलाई केवल पढाउने संस्था मानिएन। बरु ठानियो, विश्वविद्यालय किसानको साथी हुनुपर्छ। फलतः अगाडि आयो, ल्यान्ड ग्रान्ट युनिभर्सिटीको अवधारणा। शिक्षणसँगै अनुसन्धान र ज्ञानलाई समुदायसम्म विस्तार गर्न यो पहल महत्त्वपूर्ण साबित भयो। यसरी विश्वविद्यालयको ढोका बाहिरतिर खुल्यो। प्रयोगशालामा बनेको ज्ञान खेतसम्म पुग्न थाल्यो। यहीं मस्तिष्क माटोसँग जोडियो। किसानको समस्या अनुसन्धानको विषय बन्न थाल्यो। विश्वविद्यालय र समाजबिचको दुरी घट्न थाल्यो। यही सम्बन्धले अमेरिकाको कृषि, उद्योग र प्रविधिलाई असाधारण गति दियो।

नेदरल्यान्डले बुझ्यो– माटो एक्लैले उत्पादनमा चमत्कार गर्दैन, माटोसँग संवाद गर्ने मस्तिष्कले उत्पादन बढाउँछ। त्यसैले त्यहाँ विश्वविद्यालय, अनुसन्धान संस्था, किसान र उद्योग एउटै वृत्तका सदस्य भए। त्यहाँको वागेनिंगेन विश्वको उत्कृष्ट कृषि विश्वविद्यालयका रूपमा चिनिन्छ। झन्डै १३८ बिलियन युरो बराबरको कृषि निर्यातको आधारका रूपमा त्यही विश्वविद्यालय देखिन्छ। क्षेत्रफलले सानो राष्ट्रको कृषि निर्यातमा यत्रो चमत्कार ? विश्वका ठुला अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सक्नुको रहस्य उर्वर माटोभन्दा धेरै उर्वर मस्तिष्क हो भन्ने कुराको बलियो प्रमाण हो।

इजरायलसँग मरुभूमि धेरै छ, पानी थोरै छ। प्रकृतिले उदारता देखाएको छैन तर मस्तिष्कले हार मानेन। ब्लास र हात्जेरिमले प्रश्न फेरिदिए। ‘हामीसँग पानी किन छैन ?’ भन्दा ठुलो प्रश्न उनीहरूले सोधे– जति पानी छ, त्यसलाई कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने ? यही प्रश्नबाट थोपा–थोपा सिँचाइ, मरुभूमिमा खेती र पानीको कुशल व्यवस्थापनका नयाँ प्रविधिहरू जन्मिए। विश्वविद्यालयहरूले त्यस नवप्रवर्तनलाई विज्ञानको बल दिए।

युद्धपछि कोरियासँग धेरै कुरा थिएन। एउटा निर्णय थियो– ज्ञानमा लगानी गर्ने। विश्वविद्यालय प्रयोगशालामा कैदी बनेनन्, उद्योगसँग हातेमालो गरे। अनुसन्धान कारखाना पुग्यो। विद्यार्थीलाई जागिर मात्र खोज्ने कला होइन, उद्योग खोल्ने साहस सिकाइयो। केही दशकभित्रै कोरियाले आफ्नो उत्पादन संसारभर पठाउन थाल्यो।

नेपालको समस्या के हो ? हामीसँग माटो छैन ? छ, पानी छैन ? छ, युवा छैनन् ? छन्, विश्वविद्यालय छैनन् ? छन्। अनि किन हामी अझै पनि उत्पादनभन्दा आयातमा, नवप्रवर्तनभन्दा उपभोगमा र अनुसन्धानभन्दा प्रतिवेदनमा बढी परिचित छौं ? त्यसैले अबको प्रश्न विश्वविद्यालयले परीक्षाको नतिजा कति छिटो प्रकाशन गर्छ भन्ने होइन, विश्वविद्यालयलाई कता जोड्ने भन्ने हो। समाजसँग, माटोसँग, उत्पादनसँग किनकि समाजका समस्या पढ्न छोडेको दिनदेखि विश्वविद्यालयले विश्वास गुमाउन थाल्छ र समाजको विश्वास गुमाएको विश्वविद्यालयले राष्ट्रको भविष्य दिन सक्दैन।

एउटा कल्पना गरौं– के कृषि केवल कृषि विश्वविद्यालयको विषय हो ? हो भने खाद्य सुरक्षा कसको विषय हो ? किसान मात्र माटोसँग सम्बन्धित हो भने जलवायु परिवर्तनसँग कसको सम्बन्ध छ ? पोषणसँग ? स्वास्थ्यसँग ? कृत्रिम बुद्धिमत्तासँग ? अर्थतन्त्रसँग ? राष्ट्रिय सुरक्षासँग ? वास्तवमा हामीले विषयहरू छुट्याउने क्रममा जीवनलाई नै टुक्य्राइदियौं।

खेत एक ठाउँमा रह्यो, प्रयोगशाला अर्को ठाउँमा, बजार तेस्रो ठाउँमा, नीति चौथो ठाउँमा, विश्वविद्यालय पाँचौं ठाउँमा तर बिउ उमार्न यी सबै एकैचोटि चाहिन्छन्। सायद यही कारणले विश्वविद्यालयहरू विशिष्ट त बने तर समाजका जटिल प्रश्न समाधान गर्ने क्षमतामा क्रमशः कमजोर हुँदै गए।

कृषि कृषि विश्वविद्यालयकै विशिष्टताको क्षेत्र हुन सक्यो। तर उत्पादन कुनै एक विश्वविद्यालयको मात्र विषय हुन सक्दैन। उत्पादन साझा विषय हो। त्यसैले उत्पादनसँग जोडिने जिम्मेवारी पनि सबै विश्वविद्यालयको साझा जिम्मेवारी हो।

कुनै प्राविधिक विश्वविद्यालय किसानका लागि सस्तो र दिगो प्रविधि बनाउन किन केन्द्रित नहुने ? सूचना प्रविधि माटो, मौसम र बजारलाई कृत्रिम बुद्धिमत्तासँग किन नजोड्ने ? व्यवस्थापन संकायले मूल्य सिर्जना गर्न किन नसिकाउने ? चिकित्सा विज्ञानले रोग र औषधिभन्दा पोषण र खाद्य सुरक्षालाई प्राथमिकतामा किन नराख्ने ? पर्यावरण विज्ञानले माटोको स्वास्थ्यलाई राष्ट्रिय सम्पत्तिको रूपमा किन नहेर्ने ? मानविकी तथा सामाजिक शास्त्रले श्रमको गरिमा, ग्रामीण जीवन र सामुदायिक अर्थतन्त्रलाई विकासको मूल भाष्य किन नबनाउने ?

सारतः हलो चलाउने सिपको नाम मात्र कृषि होइन। यही कारणले एउटा प्रस्ताव अघि सार्नु वाञ्छनीय देखिन्छ– प्रत्येक नागरिकले माटो छुनुपर्छ। वैज्ञानिकले अनुसन्धानद्वारा, इन्जिनियरले प्रविधिद्वारा, चिकित्सकले पोषणद्वारा, कलाकारले संवेदनाद्वारा, शिक्षकले चेतनाद्वारा र किसानले हातद्वारा। माटो सबैको हो। त्यसैले माटोप्रतिको उत्तरदायित्व पनि सबैको हो।

बुद्धले मध्यममार्गको कुरा आध्यात्मिक जीवनका लागि गरेका थिए, सुखसयल र आत्मदमन दुवैमा अतिबाट बच्ने मार्गका रूपमा। आज त्यही कुरा विकासको प्रश्नमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ। माटो र मस्तिष्कको असन्तुलन घातक हुन्छ। त्यसैले कृत्रिम बुद्धिमत्ताको उडानमा केवल शीर्षासन या प्रकृतिप्रेमको नाममा फगत् हलासनले जीवनको योग पूर्ण हुँदैन। त्यसैले विश्वविद्यालयलाई उही प्रश्न होइन– कति विद्यार्थी उत्तीर्ण भए ? प्रश्न यो हो– कति जीवन बदलिए ? यस्तो प्रश्न गर्नेहरूले समवेत स्वरमा अवश्य भन्नेछन्– ‘हामीले विश्वविद्यालयलाई ज्ञानको भण्डार बनायौं। अब त्यसलाई ज्ञानको प्रवाह बनाऔं।’

हरेक विश्वविद्यालयसँग एउटा जागरुक समुदाय जोडिएको हुनुपर्छ। हरेक विभागसँग एउटा ज्वलन्त समस्या जोडिएको हुनुपर्छ। हरेक अनुसन्धानसँग एउटा सटिक समाधान जोडिएको हुनुपर्छ र हरेक विद्यार्थीले उत्पादनप्रतिको दायित्व बोध गरेको हुनुपर्छ।

माटो छुनु भनेको केवल धुलोमा हात राख्नु होइन। माटो छुनु भनेको आफ्नो अस्तित्वलाई उत्पादनसँग जोड्नु हो, राष्ट्रले खाने अन्नसँग जोड्नु हो, श्रमलाई समाजको आवश्यकतासँग जोड्नु हो, ज्ञानलाई जीवनसँग जोड्नु हो। त्यसैले प्रत्येक नागरिकले माटो छुनुपर्छ। कसैले हातले, कसैले बुद्धिले, कसैले प्रविधिले, कसैले कलाले, कसैले नीतिले तर सबैले कुनै न कुनै रूपमा। किनकि उत्पादनमा सहभागी नभएको ज्ञान अन्ततः उपभोगको दास बन्छ।

फेरि शीर्षकतिर फर्कौं। माटोले उमार्छ, मस्तिष्कले हामीलाई उकास्छ, मध्यममार्गले विवेक दिन्छ। माटोले अन्न दिन्छ। मस्तिष्कले आविष्कार र अर्थ दिन्छ। मध्यममार्गले आगामी भविष्य दिन्छ। हामीलाई केवल धेरै उत्पादन गर्ने राष्ट्र बन्नुछैन, पहिला आफूलाई पुग्ने गरी उत्पादन गर्ने राष्ट्र बन्नु छ। हामीलाई केवल धेरै प्रविधि सिर्जना गर्ने राष्ट्र पनि बन्नुछैन, उत्पादन र आविष्कारमा सम्यक् दृष्टि राख्ने राष्ट्र बन्नु छ।  

प्रकाशित: १६ श्रावण २०८३ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %