२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

स्वार्थले संकटमा कांग्रेस: आआफ्नै दोकानको तयारीमा नेताहरू

‘देशमा स्वार्थ परायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ। हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। त्यो हो, देशको अस्तित्वको रक्षा गर्नु।’

नेपाली कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि गरेको अपिलको एक अंश हो यो। एक साताअघि सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको दुई पक्षीय विवाद बढ्दै जाँदा बिपीले त्यतिबेला भने जस्तै मुलुक धार्मिक र सामाजिक रूपमा अप्ठेरोतर्फ उन्मुख थियो। सरकार, राजनीतिक दलहरूसहित सबै पक्षको संयमले विविधतामा एकता चरित्रमा आँच ल्याउने प्रयास असफल भएको छ तर त्यही एकता र सहअस्तित्वको आह्वान गर्ने बिपीसहितका नेताहरूले स्थापना गरेको नेपाली कांग्रेस भने अहिले सबैभन्दा अप्ठेरो र संकटमा छ। नीति, कार्यक्रम र वैचारिक मतभेद, देश, जनता, पार्टीको चिन्ता र चिन्तनले यो संकट आएको होइन। नेताहरूको अहंकार र आत्मकेन्द्रित स्वार्थका कारण कांग्रेस विग्रह र विभाजनको  डिलमा छ।

२००३ सालमा बिपीसहितका नेताहरूले राणाशासन अन्त्यका लागि स्थापना गरेको कांग्रेस पार्टी जनताको माग र समयको आवश्यकताअनुसार निर्णय लिँदै अघि बढ्दा झन्डै ८० वर्ष मुलुकको मियो बन्न पुगेको इतिहास छ। राणाशासन हटाउन कांग्रेसभन्दा पहिला प्रजा परिषद् पहिला नै स्थापना भएको थियो तर नीतिभन्दा नेता प्रधान हुँदा प्रजापरिषद्सहितका धेरै दल इतिहासका पानामा सीमित भए।

नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा केही वर्षअघिसम्म सत्ताको राइँदाइँ गरेको कांग्रेस आई अहिले कुन अवस्थामा छ ? विश्वका अन्य लोकतान्त्रिक मुलुकमा पनि लामो समय शासन गरेका दलहरू कसरी विलय भए भन्ने कांग्रेसका नेताले नबुझेका होइनन् तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले रोपेको असन्तोष विशेष महाधिवेशन हुँदै अहिलेसम्म आइपुग्दा कांग्रेस सबैभन्दा ठुलो संकटमा छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधता दिएपछि विवाद थप पेचिलो बन्न पुगेको छ।

एकातिर वैधता पाएको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व उदारतासहित त्यसमा छुटेका नेताहरूलाई समेटेर अघि बढ्न तयार देखिएको छैन भने अर्को पक्ष पनि लोकतान्त्रिक विधि र प्रक्रिया आत्मसात् गर्न तयार देखिँदैन। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग वैधानिकताको बल छ तर त्यहाँ लिगेसी र पुराना नेताहरूको अभाव छ। अर्को पक्षसँग लिगेसीसहित अनुभव छ तर वैधता छैन र युवा शक्ति आश्वस्त हुनु सकेको छैन।

दुवै पक्षले आफूसँग भएको शक्तिलाई अहंकार र स्वार्थमा प्रयोग गर्न खोज्दा विगतमा पटक पटक मुलुकको राजनीतिक, सामाजिक र आर्थिक परिर्वतनको अगुवाइ गरेको कांग्रेस इतिहास बन्ने त होइन भन्ने विश्लेषण गर्न थालिएको छ।

कानुनी रुपमा वैधता पाएको नेतृत्व विशेष महाधिवेशनमा सहभागी नभएको समूहलाई सँगै लिएर हिँड्न तयार नभएपछि अर्को पक्ष बिपीका छोरा तथा पूर्वमहामन्त्री शशांक कोइरालालाई अघि सारेर राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशशरण महत, एनपी साउदसहितका नेताहरू शशांकको पछाडि रहेको जनाइएको छ।

शेखरसँग निकट नेताहरू भने अझै दुविधामा छन्। संस्थापन पक्षले साउन २९ गतेसम्म १४औं महाधिवेशनबाट निर्वाचितमध्ये छुटेका १११ जनालाई केन्द्रीय समितिमा समावेश नगरे नयाँ पार्टी गठनको तयारीमा इतर पक्षका नेता छन्। संस्थापन पक्ष भने १११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नसकिने अडानमा छ। संस्थापनले पार्टी विधानअनुसार केन्द्रीय सदस्यमा मनोनीत गर्न बाँकी ४० जनाभित्र १११ मध्येकालाई समेटेर जान सकिने भन्दै आएको छ। विधानविपरित १११ जना मनोनीत गर्दा उनीहरूको ४० प्रतिशत पुग्ने र वैधानिकरुपमा पार्टी विभाजन गर्नसक्ने आशंकामा संस्थापन छ। इतर पक्ष जसरी पनि १११ जनालाई मनोनीत गर्नुपर्ने अडानमा छ।

नेता शेखरले केन्द्रीय समिति समायोजनमा सहमति जुट्न नसके पार्टी एकताका लागि १५औं महाधिवेशन तयारी समिति गठन गरेर जान सकिने प्रस्ताव राखेका थिए। तर इतर पक्षका नेताले उक्त प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै अस्वीकार गरेका छन्। इतर पक्षले मुलुक जटिल अवस्थामा पुगेका बेला संस्थापन पक्षले पार्टी र देशलाई नै थप संकटतिर धकल्न खोजेको आरोप लगाउँदै आएको छ। यसले ‘भाइ फुटे गवार लुटे’ भने जस्तै दुवै पक्ष आआफ्ना दोकान खोल्ने अवस्थामा पुगेका छन्। तर अलअलग दोकान चल्ने देखिँदैन।

जेनजी आन्दोलनपछि फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले परम्परागत समर्थक र मतदाता गुमाइसकेको छ। कांग्रेस न युवाको समर्थन प्राप्त गर्ने अवस्थामा छ न पाकाहरूको विश्वास आर्जन वा संरक्षण गर्ने अवस्थामा। तन्नेरीसँग सम्पर्क विच्छेद गरेको कांग्रेस सहरिया मतदाताको मन जित्न र दूरदराजका जनताको भरोसा बन्न पनि सकेको छैन।

देशभित्र र बाहिर सबैको विश्वास कांग्रेसले गुमाएको छ। जनताले एउटा व्यक्ति होइन, राजनीतिक दलहरूको प्रवृत्तिमाथि नै प्रश्न उठाएका छन्। दुईचार नेता वा व्यक्ति मात्र होइन, एउटा प्रवृत्तिको अन्त्यसहित समग्रमा देश र जनताले रूपान्तरण खोजेका छन्। कांग्रेस कार्यकर्ता, जनता र समयको पदचापअनुसार फेरिने आशा धेरैले गरेका थिए र छन् तर नेताहरूको मनोग्रन्थी देश, जनता होइन, पार्टी कब्जा गरेर भविष्य बनाउनेतर्फ उद्वेलित छ। जसले कांग्रेस थप संकटमा पर्ने देखिन्छ।

कांग्रेसभित्रको गुट विवाद र विभाजनले पार्टी मात्र होइन, पटक पटक लोकतान्त्रिक शासन व्यवस्था नै अप्ठेरोमा नपरेको पनि होइन। कांग्रेस स्थापनासँगै नेता को बन्ने भन्ने विवाद पटक पटक नभएको होइन। २००८ सालमा बिपी र मातृकाप्रसाद कोइरालाबिच देखिएको विवादले संविधानसभाबाट संविधान लेख्ने नेपाली जनताको चाहना २०७२ सालमा मात्र आएर पूरा भयो।

२०१५ सालमा बिपी र सुवर्णशमशेर राणा, २०४८–५० मा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, २०५९ मा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबिच विवाद र संघर्ष भए। बिपी, सुवर्ण, कृष्णप्रसादले व्यक्तिगत स्वार्थभन्दा पार्टी बृहत्तर हितलाई केन्द्रमा राखेका थिए। उनीहरूले नेताभन्दा नीतिलाई प्राथमिकतामा राखेर देशलाई निकास दिएका थिए, मुलुक र पार्टीलाई अघि बढाएका थिए।

विभाजित भएका गिरिजाप्रसाद, शेरबहादुरहरूले विगत महसुस गरेर पार्टी एकता गरेका थिए। कांग्रेसले हिंसात्मक आन्दोलनमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर दुई सय ४० वर्ष लामो राजतन्त्रलाई हटाउने आन्दोलनको नेतृत्व गरेको थियो। संविधानसभाबाट संविधान निर्माण हुन नसक्दा मुलुक अन्योलमा फस्दै गएका बेला सुशील कोइराला र शेरबहादुर एक ठाउँमा दृढतापूर्वक उभिँदा दोस्रो संविधानसभा निर्वाचन भएको थियो। र, कांग्रेसकै नेतृत्वमा २०७२ सालमा संविधान जारी भयो। देउवा र रामचन्द्र पौडेलले एकै ठाउँमा उभिएर नयाँ संविधानअनुसार २०७४ सालमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गराए र मुलुकलाई एउटा गति दिएका थिए।

अहिले पनि कांग्रेसलाई संकटबाट उकास्न पार्टीका विभिन्न तहका नेताले शीर्ष नेतालाई दबाब दिइरहेका छन्। पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले पार्टी मिलाउन आफूहरू पद त्याग गर्न पनि तयार रहेको बताए। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘बाँकी साथीहरूलाई विधानभित्रै मिलाउनुपर्छ। साउन २४ गतेको बैठकबाट समस्या समाधान गर्नेगरी सभापतिले पहल लिनुपर्छ।’

त्यस्तै राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस नेता रञ्जित कर्णले दुवै पक्ष एकएक कदम पछि हटेर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २१ श्रावण २०८३ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App