नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।
जेनजी आन्दोलन तथा गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन गर्न बनेको आयोगले तयार पारेको प्रतिवेदनमा तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गई शक्ति विभाजनको सिद्धान्तलाई बेवास्ता गरेको आरोपसहित थप अध्ययन गर्न समिति गठन गरेको बारले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत अध्ययन गर्ने गरी समिति बनाएको एक विज्ञप्ति जारी गर्दै नेपाल बारले जनाएको छ । नेपाल बार एसोसिएसनकै अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रको अध्यक्षतामा गठित समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन, टीकाराम भट्टराई र डा. दिनमणि पोखरेल सदस्य छन् । बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला सदस्यसचिव रहेको समिति गठन भएको हो ।
समितिले अध्ययन गरेर तयार पार्ने प्रतिवेदनपछिमात्र बारले आफ्नो धारणा सार्वजनिक गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
प्रकाशित: १२ चैत्र २०८२ १७:५३ बिहीबार





