नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर बहस चर्किरहेका बेला सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीको प्रस्तुति पनि आक्रामक देखिएको छ । पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला ओलीले त्यस्ता गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट नेतृत्वविरुद्ध बोल्नेहरूलाई कडा चेतावनी दिएका छन् ।
ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूलाई हटाउन माग गर्दै उठेको आवाजप्रति असन्तुष्टि जनाएका हुन् । उनले पार्टीमाथि ‘फासीवादी हमला’ भइरहेको दाबी गर्दै यस्तो अवस्थामा पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न सक्रिय भएको आरोप लगाए ।
‘फासीवादी हमलाको प्रतिकार गर्न एकजुट हुनुपर्ने हो । पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्दत भए,’ ओलीले भने ।
उनले पार्टीका आन्तरिक विषय पार्टीभित्रै छलफल गर्नुपर्ने भन्दै बाहिर गएर नेतृत्वविरुद्ध बोल्ने र विपक्षीलाई खुसी पार्ने गतिविधि नगर्न नेताहरूलाई चेतावनी दिए ।
‘पार्टीमा हुनुहुन्छ भने यहीँ छलफल गर्नुस् । तर बाहिर गएर जग हँसाइ गर्न पाइँदैन, न्यायाधीश हुन पाइँदैन । विपक्षीलाई खुसी पार्ने काम गर्न पाइँदैन,’ उनले भने ।
एमालेभित्र गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि नेतृत्व र पार्टी पुनर्गठनको बहस चर्किएको छ । महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षका नेताहरूले नेतृत्व हस्तान्तरणको विषय उठाउँदै आएका छन् । उपमहासचिव योगेश भट्टराईले समेत ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
तर, ओलीले भने नेतृत्व परिवर्तनको आवाजप्रति असहमति जनाउँदै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले एमालेमाथि राष्ट्रियताको पहरेदार भएकै कारण हमला भएको दाबी गर्दै पार्टीमाथि झुटा लाञ्छना लगाएर आक्रमण गरिएको बताए ।
निर्वाचन पराजयको समीक्षा गर्नुपर्ने ओलीको भनाइ
ओलीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको पराजयको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
‘हामीले फागुन २१ को निर्वाचनमा पराजय किन भोग्यौँ ? त्यसका कारण के हुन् ? तिनको कारण के हो ?’ उनले प्रश्न गरे ।
उनले निर्वाचनको छ महिनाभित्रै केन्द्रीय कमिटी बैठक बस्नुपर्ने भए पनि त्यसो हुन नसकेको स्वीकार गरे । दोस्रो बैठकको आठ महिनापछि तेस्रो बैठक बसिरहेको भन्दै उनले बैठकमा भएको ढिलाइलाई स्वाभाविक मान्न नसकिने बताए ।
बैठक ढिला हुनुमा पछिल्लो राजनीतिक परिस्थिति र व्यक्तिगत कारणसमेत जोडिएको ओलीको भनाइ छ । बुवाको निधन, गिरफ्तारी तथा स्वास्थ्य समस्याका कारण आफू अलमलमा परेको उनले बताए ।
बैठकमा ओलीको कडा अनुशासन
नेतृत्वमाथि प्रश्न उठिरहेका बेला बसेको केन्द्रीय कमिटी बैठकलाई ओलीले कडा अनुशासनमा सञ्चालन गर्ने संकेतसमेत दिएका छन् ।
उनले बैठकमा मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिँदै मंगलबारदेखि बैठक हल बाहिरै मोबाइल राख्ने व्यवस्था गरिने बताए । बैठकभित्र मोबाइल चलाउन, हेर्न, भिडियो खिच्न, रेकर्ड गर्न वा लाइभ गर्नसमेत रोक लगाइएको छ ।
यस्तै, बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ । निर्धारित समयमा धारणा राख्न नभ्याउनेले लिखित रूपमा सुझाव दिन सक्ने व्यवस्था गरिएको छ । बैठकका क्रममा आफ्नो आसन छाड्दा र बोल्दा समेत अध्यक्षको अनुमति लिनुपर्ने ओलीले बताएका छन् ।
फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमाले केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भएको पराजय, पार्टी पुनर्गठन, नेतृत्वको प्रश्न तथा बदलिएको राजनीतिक परिस्थितिबारे छलफल हुँदैछ । बैठक असोज ७ गतेसम्म चल्ने तयारी छ ।
यसअघि पार्टी पुनर्गठन कार्यदलले नेतृत्व पुनर्गठनसहितका विषयमा फरक–फरक धारणा समेटिएका प्रतिवेदनमाथि छलफल गरेको थियो । तत्काल अध्यक्ष परिवर्तन नगरी पार्टी पुनर्गठनको विषयलाई आगामी विधान महाधिवेशनमा लैजाने गरी साझा प्रतिवेदन बनाइएको विवरणसमेत सार्वजनिक भएको छ ।
प्रकाशित: ५ आश्विन २०८३ १६:१७ सोमबार





-600x400.jpg)