नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन् ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठक मंगलबार दिउँसो १ बजे काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी तथा महाधिवेशन कार्यतालिकालगायत विषयमा छलफल हुने ज्वालाले जानकारी दिए ।
त्यसैगरी, भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनर्स्थापनाका कामको समेत बैठकमा समीक्षा गरिने उनले बताए ।
नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेकाले बैठकले त्यसको पुनरावलोकन गर्न सक्ने ज्वालाले बताए ।
नेकपाले राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । त्यसका लागि गत साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सम्पन्न गर्ने र भदौ १५ गतेभित्र वडा तथा भदौ १६ गतेदेखि भदौ मसान्तसम्म पालिका अधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो ।
तर, भदौ सकिँदासमेत सदस्यता नवीकरण तथा विस्तारको काम पूरा हुन सकेको छैन । पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।
सदस्यता नवीकरणदेखि वडा र पालिका अधिवेशनसम्मका काम निर्धारित समयमै सम्पन्न हुन नसकेपछि महाधिवेशनको पूर्वनिर्धारित तालिका प्रभावित भएको हो । यही कारण मंगलबार बस्ने बैठकले महाधिवेशनको नयाँ वा संशोधित कार्यतालिका तय गर्न सक्ने पार्टीले जनाएको छ ।
प्रकाशित: ५ आश्विन २०८३ २०:३३ सोमबार





-600x400.jpg)