केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन्।
केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ। गत वर्षबाट केरा आयात रोकिएको छ। आयात रोकिसँगै किसानले उत्पादन बढाएका थिए।
नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चारमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताए।
‘केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रुपमा घटेको छ,’ उनले भने, ‘प्रतिकोसा रु नौसम्ममा बिक्री भएका केरा अहिले रु चारमा झरेको छ।’
देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ। एक बिघा जमिनमा दुई हजार बेर्ना रोप्न सकिन्छ। एउटा बिरुवामा १०० देखि २०० कोसासम्म केरा फल्छ। नेपाल केरामा आत्मनिर्भर छ।
केरा आयात रोकिएपछि किसानले तीन हजार बिघा थप गरी खेती गर्न सुरु गरे। आउँदो वर्ष केरा निर्यात गर्नुपर्ने पन्तको भनाइ छ।
काठमाडौं, पोखरा, नेपालगञ्जलगायत स्थानमा केराको मूल्य घटेको छ। समयअनुसार बजार व्यवस्थापन हुन नसक्दा सो स्थानमा मूल्य घटेको हो। फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी किसानले उत्पादन योजना बनाएका छन्।
केराको उत्पादन बढेर नौ लाख मेट्रिक टन पुगेको छ। दसैँ, तिहार र छठसम्म केराको मूल्यमा वृद्धि हुने सम्भावना छ।
फागुनपछि मूल्य बढ्ने अनुमान छ। चितवनमा सुपरजोन क्षेत्रमा एक हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ। यो नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हो।
केरा उत्पादक सङ्घ, चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन नलैजाने र सस्तोमा लगेको महँगोमा बेच्दा समस्या भएको बताउछन्।
उपभोक्ताले हाल पनि जी नाइन केरा प्रतिदर्जन रु १०० भन्दा बढीमा खरिद गर्न बाध्य भएका छन्।
केरा बिक्री नहुँदा बारीमा बिग्रने सम्भावना बढेको छ। भोटेकोशी–त्रिशूली बाढीलगायत कारण राजधानी लगायतका ठूला बजारमा बिक्रीका लागि केरा पठाउन नसक्दा मूल्य घटेका हो।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ का किसान शङ्कर सुवेदी बाढीका कारण विभिन्न ठाउँमा पुग्न नसक्दा मूल्य घटेको बताउछन्।
सुवेदीले ६४ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन्। यस वर्षबाट देशलाई आत्मनिर्भर बनाउने गरी बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन लागेको उनले बताए।
उत्पादित केराको मूल्य लागत मूल्यभन्दा तल नगए नेपालका किसानले केरामा सहजै आत्मनिर्भर बनाउन सक्ने उनको भनाइ छ।
नेपालमा एक जना किसानले १०० बिघा क्षेत्रफलसम्म केरा लगाएको महासङ्घको तथ्याङ्कमा छ। गत असोज ६ गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो।
उक्त निर्णय पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो। यसैसँग उत्साहित भएका किसानले केरा खेती वढाएका हुन्। नेपालमा मालभोग, जी नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ।
प्रकाशित: ५ आश्विन २०८३ १७:२१ सोमबार





-600x400.jpg)