१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित ६ को खोजी तथा उद्धार अभियान पुनः सुरु

पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८ हजार ४७ मिटर) मा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएका अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य शनिबार (आज) बिहानदेखि पुनः सुरु गरिएको छ।

प्रतिकूल मौसमका कारण शुक्रबार साँझ स्थगित भएको खोजी तथा उद्धार कार्य मौसममा सुधार आएसँगै आज बिहानैबाट पुनः सुचारु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

गिलगिट–बाल्टिस्तान प्रहरीका प्रवक्ताका अनुसार उच्च हिमाली भरिया (हाइ-अल्टिच्युड पोर्टर) तथा उद्धार टोलीले बेपत्ता आरोहीहरूको खोजी जारी राखेका हुन्।

यसैबीच, हिजो स्कर्दु ल्याइएको ओमानी आरोहीको शव आज बिहान हवाईमार्फत स्कर्दुबाट इस्लामाबाद पठाइएको छ। नेपाली आरोहीको शव भने हाल स्कर्दुमै रहेको छ।

जानकारी अनुसार खोजी अभियानका क्रममा चार जना आरोहीको शव फेला परेको छ भने तीन जनाको मात्रै औपचारिक पहिचान भएको छ। गिलगिट-बाल्टिस्तान सरकारले दिएको जानकारी अनुसार तीन जनाको शव शुक्रबार नै पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत ब्रोड पिक बेस क्याम्पबाट स्कार्दुस्थित सीएमएच अस्पताल ल्याइएको छ। फेला परेका शवहरूमा नेपालका पुरबहादुर गुरुङ (युक्त), ओमानकी पहिलो सगरमाथा आरोही नादिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकाकी पर्वतारोही म्यालोरी गेइस (सारा म्यालोरी गेइस, टेक्सासकी ३९ वर्षीया) रहेका छन्। चौथो शवको बारेमा औपचारिक पहिचान हुन बाँकी रहेको छ। उद्धार टोलीले ड्रोन फुटेज र जीपीएस संकेतहरूको सहायताले क्षेत्रको निगरानी गरिरहेको छ।  

प्रकाशित: १६ श्रावण २०८३ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App