२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

स्टार्टअप संस्कृतिलाई देशव्यापी बनाउने अभियान सुरु, सातै प्रदेशमा समिट आयोजना गरिने

नेपालमा नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई संस्थागत रूपमा विकास गर्ने उद्देश्यसहित ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियान औपचारिक रूपमा सुरु भएको छ। आयोजकले यो अभियानलाई एकदिने कार्यक्रममा सीमित नराखी सातै प्रदेश र देशभरका शैक्षिक संस्थासम्म विस्तार गर्ने जनाएको छ।

‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो। कार्यक्रममा विद्यार्थी, प्राध्यापक, उद्योगी–व्यवसायी, लगानीकर्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार नेपालमा बढ्दो युवा पलायनलाई रोक्दै सिर्जनशील जनशक्तिलाई स्वदेशमै अवसर उपलब्ध गराउने लक्ष्यका साथ अभियान अघि बढाइएको हो। यसमार्फत स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, लगानी व्यवस्थापन, स्टार्टअप कर्जा, बजार विस्तार तथा उद्यम सञ्चालनका चुनौती र अवसरबारे व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारीसँग मात्र नभई उद्यमशीलतासँग पनि जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले यस्ता कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै विश्वविद्यालय आवश्यक सहकार्य गर्न तयार रहेको बताए।

स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा रहेको प्रतिभा र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताइन्। उनका अनुसार अब युवाले विदेशमा अवसर खोज्नेभन्दा नेपालमै अवसर सिर्जना गर्ने सोच विकास गर्नुपर्ने समय आएको छ।

उनले भनिन्,‘आज हाम्रो सबैभन्दा ठूलो चुनौती ब्रेन ड्रेन हो । अब यसलाई ब्रेन गेनमा रूपान्तरण गर्नुपर्छ । नेपालमा प्रतिभा, सम्भावना र सिर्जनशीलताको कमी छैन । आवश्यक छ त सही सोच, उचित मार्गदर्शन र अवसरको । युवाले विदेशमा अवसर खोज्ने होइन, नेपालमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु हाम्रो अभियानको उद्देश्य हो ।’

उनले समिटलाई सातै प्रदेश र ७७ वटै जिल्लासम्म विस्तार गर्ने योजना रहेको जानकारी दिँदै विश्वविद्यालय, कलेज, विद्यालय, सरकारी निकाय, निजी क्षेत्र तथा वित्तीय संस्थासँग सहकार्य गर्दै राष्ट्रिय स्तरको स्टार्टअप इकोसिस्टम निर्माण गरिने बताइन्।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायका लागि ठूलो लगानीभन्दा सही सोच, योजना र निरन्तर प्रयास आवश्यक हुने धारणा राखे। उनले कम्पनी दर्ता, कानुनी प्रक्रिया, बजार अध्ययन, लगानी व्यवस्थापन र स्टार्टअप कर्जासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।

यस अवसरमा सफल नेपाली स्टार्टअप उद्यमीका अनुभव, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गरेका उद्यमीहरूको प्रेरणादायी कथा तथा वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो। प्रश्नोत्तर सत्रमा सहभागी विद्यार्थीहरूले उद्यमशीलता, लगानी, व्यवसाय विस्तार र सरकारी नीतिसम्बन्धी जिज्ञासा राखेका थिए।

आयोजकका अनुसार ‘स्टार्टअप समिट नेपाल–२०२६’ दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा सञ्चालन हुनेछ। सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबीच सहकार्य विस्तार गर्दै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलताको वातावरण निर्माण गर्ने लक्ष्य अभियानले लिएको छ।

प्रकाशित: २१ श्रावण २०८३ १९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App