२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

बडिमालिका दर्शन गर्ने भक्तजनहरूका लागि पूर्वाधार निर्माण

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको त्रिवेणी पाटनमा पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माण गरिएको छ।

त्रिवेणी पाटनमा घुम्न पुग्ने पर्यटक तथा बडिमालिकाको दर्शन गर्ने भक्तजनहरूका लागि धर्मशाला, स्नानका लागि एक सय आठ धारा, शौचालय, ड्रेस चेन्ज रुम, हेलिप्याड तथा प्रवेशद्वारलगायत संरचना निर्माण भएपछि आन्तरिक पर्यटक तथा भक्तजनहरूलाई सहज भएको हो।

पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माणपछि त्रिवेणी पाटन पुग्ने भक्तजन र पर्यटकलाई बास बस्न सहज भएको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख धर्मराज उपाध्यायले बताए।

वर्षौँदेखि आवश्यक पूर्वाधारको अभावमा समस्या भोग्दै आएका आन्तरिक पर्यटक तथा भक्तजनहरूलाई अहिले भने सहज रूपमा दर्शन तथा भ्रमण गर्न सक्ने अवस्था बनेको उनको भनाई छ।

तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भएको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताए। उनले संरचना निर्माणसँगै पालिकालाई हस्तान्तरण समेत भएको बताए।

त्रिवेणी पाटलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पालिकाले राखिएको बताए।

त्रिवेणी पाटन धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल भएकाले यसको संरक्षण र व्यवस्थित विकासले पालिकाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।

बडीमालिका–त्रिवेणी पाटन धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ। निर्माण सम्पन्न भएका पूर्वाधारले तीर्थयात्री र पर्यटकलाई सहज सेवा उपलब्ध गराउनुका साथै पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण थालेको हो।

आर्थिक वर्ष २०७९/०८० बाट पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो। अहिले पूर्वाधार निर्माणको काम सम्पन्न भई सान्नीत्रिवेणी गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ।

‘त्रिवेणी बडिमालिका पर्यटकीय निर्माण योजना’ नामकरण गरेर पूर्वाधार निर्माण थालिएको डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालले जानकारी दिए।

पूर्वाधार निर्माणका लागि मजदुर कन्स्ट्रक्सन प्रालि सुर्खेतसँग २०७९ असारमा पाँच करोड ५५ लाखमा ठेक्का सम्झौता भएको उनले बताए।

पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

प्रकाशित: २१ श्रावण २०८३ १७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App