८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

धार्मिक सद्‍भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जना पक्राउ

कृष्णनगरमा मूर्ति विसर्जनका क्रममा उच्छृङ्खल गतिविधि र सामाजिक सञ्जालमा धार्मिक सद्भाव बिथोल्ने कार्यमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्।

गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।

कृष्णनगर नगरपालिका-२ मा दुर्गा मूर्ति विसर्जनका क्रममा सडकका विभिन्न स्थानमा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका उच्छृङ्खल गतिविधि प्रदर्शन गरिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। सामाजिक सञ्जालमा प्राप्त तस्बिर तथा भिडियोका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-१ सेमराका २३ वर्षीय विकास यादव, १८ वर्षीय गान्धी चौहान र १८ वर्षीय सुनिल चौहान रहेका छन्। उनीहरूमाथि साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरेको आरोप छ। 

त्यस्तै कृष्णनगर नगरपालिका-१ मदरनियाका १९ वर्षीय आर्यन मिश्रलाई घटनामा संलग्न व्यक्तिको भिडियो बनाई सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कृष्णनगर नगरपालिका-११ रामनगर (कप्तानगञ्ज) का २६ वर्षीय हरि नारायण पाललाई पनि साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने विषयवस्तु फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए। उनका अनुसार पक्राउ परेका पाँचै जनामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालयले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने गतिविधि नगर्न र सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको उपरीक्षक सिंहले बताए।

५ सय ९ मूर्ति नै शान्तिपूर्ण रूपमा विसर्जन

कपिलवस्तुमा दसैंको अवसरमा निकालिएका ५ सय ९ दुर्गा भवानीका मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन गरिएका छन्। नवरात्र र सप्तमीका दिन निकालिएका मूर्ति कार्तिक ३ देखि कार्तिक ८ सम्म शान्तिपूर्ण रूपमा विसर्जन गरिएको हो।

जिल्लामा चाडपर्व लक्षित योजनाअनुसार व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। मूर्ति विसर्जनमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालनसहित स्थानीय अगुवाहरूको समन्वय र सहयोगमा मूर्ति विसर्जन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए।

विगतमा भएका घटनाहरूको अध्ययन गरी त्यसैअनुसार योजना बनाएर काम गरिएकाले त्यसको सकारात्मक परिणाम देखिएको उनले बताए।

प्रकाशित: ८ कार्तिक २०८३ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App