८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

मनसुन र विपद्पछि बौरिँदै पर्यटन, दैनिक सयौं पाहुनाले भरिभराउ पुनहिल

<br>

पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ। कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन्। चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल। सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन्। प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। 

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो। 

दसैँअघि सुनसान बनेको घोडेपानी पुनहिलमा पछिल्ला दिनमा पाहुनाको आगमन बढ्न थालेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए। 

‘विपद्का कारण असोज महिनामा सुनसान भएको थियो’, उनले भने, ‘कात्तिक महिनाको सुरुआतसँगै दैनिक २०० जना विदेशी र ५० जनाको हाराहारीमा नेपाली पर्यटक आएका छन्।’ 

पोखराबाट घुम्न आएका सन्तोष बरालले घोडेपानी–पुनहिलको प्राकृतिक सौन्दर्यले मोहित बनाएको बताए। सहरको व्यस्त दैनिकीबाट केही समय टाढा रहेर हिमाल, वनजङ्गल र शान्त वातावरणमा रमाउन पाएको उनले बताए। चाडपर्वको बिदालाई घुमफिर र नयाँ अनुभवका लागि उपयोग गर्ने चलन बढेको छ। 

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानीको प्रमुख आकर्षण हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुराको अवलोकन गर्न सकिन्छ। मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्खला आँखैअघि उभिएझैँ देखिने स्थानीय व्यवसायी सुरेश पुनले बताए।

सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पर्यटक यहाँ पुग्ने गर्छन्। बिहान पुनहिलमा सूर्योदय हेरेपछि पर्यटक घोडेपानी फर्केर आसपासका वनजङ्गल, गाउँबस्ती र प्राकृतिक सम्पदाको अवलोकन गर्छन्। शान्त वातावरण र हरियालीले यात्राको थकान बिर्साउन सहयोग गर्ने पोखराकी रोजी श्रेष्ठले बताइन्। 

‘बिहान हिमालमा उदाउने सूर्य, दिनभरि देखिने हिमशृङ्खला र प्रकृतिको शान्त वातावरणले लोभ्यायो’, उनले भनिन्, ‘प्रकृतिप्रेमीहरूका लागि घोडेपानी–पुनहिल चाडपर्वको बिदा मनाउने र छोटो पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त छ ।’ 

घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन्। घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल छन्। चाडपर्वको बिदा र अनुकूल मौसमका कारण आगामी दिनमा पर्यटक अझै बढ्ने अपेक्षा गरिएको होटल व्यवसायी पुनले बताए। 

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी–पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ। पोखराबाट कास्कीको नयाँपुल हुँदै उल्लेरीको बाटो पदयात्रा गरेर यहाँ पुग्न सकिन्छ। म्याग्दीको पोखरेबगर, घार र शिख हुँदै सडकमार्गबाट पनि घोडेपानी पुग्न सकिन्छ। घोडेपानीबाट करिब आधा घण्टाको पैदल यात्रापछि पुनहिल पुगिन्छ। 

पर्यटक पथप्रदर्शक सुन्दर बन्जाराका अनुसार यहाँको मुख्य आकर्षण हिमाली दृश्य र सूर्योदय हो। अनुकूल मौसममा एकै स्थानबाट धेरै हिमालको अवलोकन गर्न पाइने भएकाले पर्यटक घोडेपानी–पुनहिलप्रति आकर्षित हुने गरेका छन्। 

घोडेपानी र पुनहिलको पर्यटन इतिहास पनि रोचक छ। कुनै समय स्थानीय किसानको चरन क्षेत्र रहेको लुङटुङ डाँडा अहिले पुनहिलका नामले विश्व पर्यटन बजारमा परिचित छ। भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले यस डाँडाको नामकरण गरी पर्यटन विकासको जग बसालेको स्थानीय व्यवसायी बताउँछन्। उनको स्मृतिमा पुनहिलमा दृश्यावलोकनस्थलसमेत निर्माण गरिएको छ। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको प्रचारप्रसार अन्तरराष्ट्रियस्तरमा विस्तार भएको हो। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र स्थानीय संस्कृति यहाँका थप आकर्षण हुन्। 

पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले नेपालको पर्यटन क्षेत्रमा असर पारेको भए पनि घोडेपानी–पुनहिल, घान्द्रुक र अन्नपूर्ण आधार शिविर क्षेत्रमा प्रत्यक्ष असर नपरेको पर्यटन व्यवसायीले बताएका छन्। विपद्बाट प्रभावित क्षेत्रका कारण समग्र नेपालको पर्यटन असुरक्षित रहेको सन्देश जान नदिन सुरक्षित गन्तव्यको वास्तविक अवस्था प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ छ। 

प्रकाशित: ८ कार्तिक २०८३ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App