७ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

अमेरिकाबाटै प्रधानमन्त्रीले भने- पर्सिदेखि भारी वर्षा र बाढीको जोखिम छ, सतर्कता अपनाउनू

आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको भन्दै प्रधानमन्त्री बालेन शाहले उच्च सतर्कता अपनाउन नागरिकसमक्ष अपिल गरेका छन्।

हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत सम्भावित प्राकृतिक विपद्को पूर्वतयारीमा जुट्न सबैलाई आग्रह गरेका हुन्।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री शाहले असोज ९ गते देखि असोज ११ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको बताए।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्नेछ भने कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा समेत धेरै भारी वर्षाको जोखिम छ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी भेगमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

सम्भावित वर्षाले सडक तथा हवाई यातायात दुवै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री शाहले वर्षा भइरहेको समय र रातिको समयमा राजमार्गमा यात्रा नगर्न अनुरोध गरेका छन्।

त्यस्तै बाढी-पहिरोको जोखिम भएका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा पदयात्रा र हिमाली क्षेत्रको भ्रमण तालिका मौसम सुधार नभएसम्म स्थगित वा पुनर्विचार गर्नसमेत उनले सुझाएका छन्।

विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी, समन्वय र पूर्वसतर्कतामा रहन निर्देशन दिँदै प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने आधिकारिक सूचनाहरू नियमित रूपमा पालना गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।

प्रकाशित: ७ आश्विन २०८३ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App