भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भई आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सरकारी पहलमा द्रुत गतिमा मर्मत कार्य पूरा भएसँगै यो पुल आजदेखि सुचारु भएको हो।

बाढीका कारण बाङ्गाटारिएका लठ्ठा सोझ्याउने, नयाँ ह्यान्ड रेल केबल फेर्ने, स्टिल डेक र बिम जडान गरी जाली राख्ने प्राविधिक कार्य सम्पन्न भएपछि स्थानीयलाई आउजाउ खुला गरिएको हो।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनःस्थापनालाई तीव्रता दिएको छ।
यसै क्रममा धादिङ, नुवाकोट र गोरखाका अन्य १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ। ती पुलहरू आगामी एक हप्ताभित्रै सञ्चालनमा आइसक्ने विभागले जनाएको छ।
साताभित्रै सञ्चालनमा आउने तयारीमा रहेका पुलहरूमा कालिकास्थान, मालिङ्गा-मझुवाटार दोभान, महेशदोभान, केउरेनी-गहते, चिरौंदी खोला, शीतलबजार-क्युरेनीटार, बेल्खु-भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल रहेका छन्।
त्यसैगरी, बाढीबाट क्षति पुगेका थप ७ वटा झोलुङ्गे पुलको मर्मत प्रक्रिया पनि अगाडि बढाइएको छ। यसका लागि आवश्यक स्टिल पार्ट्स व्यवस्थापनतर्फ पहिलो चरणको खरिद सम्पन्न भई दोस्रो चरण खरिदका लागि सम्झौता भइसकेको छ।
यता, बाढीले पूर्ण रूपमा नष्ट भएका ३३ वटा झोलुङ्गे पुलहरूलाई नयाँ रूपमा पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ।



प्रकाशित: ७ आश्विन २०८३ १७:३८ बुधबार





