११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ।

बाढीबाट १२ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको बताए।

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरी प्रभावित क्षेत्रमा आज ५०० सोलार पावर बैंक पठाउने तयारी गरिएको छ।

बाढीका कारण  त्रिशूलीस्थित २२० केभी-३ ‘बी’ हब सवस्टेशन पूरै क्षति पुगेको छ भने छ वटा प्रसारण लाइन अवरुद्ध छ।

जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात् ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। बाढीपछिको विद्युत् आपूर्तिको अवस्था बुझ्न मन्त्रालय क्रियाशील रहेको बताइन्छ।

सिन्धुपाल्चोकको समुन्द्रटारस्थित चौघोडा, धादिङ बेंसी सवस्टेशनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: ११ भाद्र २०८३ १२:२१ बिहीबार