काठमाडौंबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको विमान अवतरणको तयारीका क्रममा फ्ल्याप (जहाजको पखेटा चल्ने पट्टी वा उठान र अवतरणमा सहयोग गर्ने पखेटाको भाग) सन्तुलन नमिलेपछि नेपालगन्ज विमानस्थलमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।
बिहीबार काठमाडौंबाट नेपालगन्जका लागि उडेको उक्त विमान साँझ ६ः३० नेपालगन्ज आकाशमा पुगेपछि अवतरणको तयारी गरिएको थियो। तर जहाजको फ्ल्याप नमिलेको देखिएपछि सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै अवतरण नगरी काठमाडौं फर्काउने निर्णय गरिएको हो।
नेपालगन्ज नागरिक उडड्यान कार्यालयका सूचना अधिकारी धीरेन्द्र रिजालका अनुसार यस्तो अवस्थामा नेपालगन्जमा अवतरण गर्नुभन्दा काठमाडौं फर्किनु बढी सुरक्षित हुने भएकाले विमान पुनः काठमाडौं फर्काइएको हो।
उनले यात्रु तथा चालक दलको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको बताए।
प्रकाशित: २१ श्रावण २०८३ १९:०२ बिहीबार





