२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

‘भू-स्वर्ग’ त्रिवेणी पाटन

धर्तीको स्वर्ग अर्थात् भू-स्वर्ग । कर्णालीमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार । जो अलौकिक छ । अद्भूत छ । अकल्पनीय छ । मनमोहक अनि बेजोड छ त्रिवेणी । समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइ । आँखाका नजरहरूले नभ्याउने विशाल क्षेत्रफल । प्रकृतिको हरित कुचीले रङ्गिएका फराकिला फाँटहरू ।

पछिल्लो समय त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर पर्यटकीय स्थल बन्दै गएको छ । त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले महत्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो ।  

त्रिवेणी पाटनमा दुईवटा खोला छन्, गंगा र जमुना जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भने धार्मिक विश्वास रहेको छ । त्रिवेणी पाटन घुम्न वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ ।  नजिकै रहेको बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ ।  मेला भर्न विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेका छन् । उनीहरू पनि एकपटक त्रिवेणी पाटनमा पुगेरै जाने गरेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए ।

त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन् । त्रिवेणी पाटननका जुनसुकै भागमा उभिएर हेर्दा पनि मनोहक प्रकृतिको बिपुल छटाले घेरेको पाइन्छ । करिब एक सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडिबुटी, भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा, भेडा चराउन २२ घाँसे मैदान र तीन नदीको संगम रहेको पवित्र धाम, हिमशृंखलाले यसको महत्व झनै बढाएको छ ।

यस पाटनको आकर्षण भनेको जंगली जनावर पनि हुन् । कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने गरेको स्थानीयले बताएका छन् । जडिबुटीका लागि त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ । यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ । त्रिवेणी पाटन, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ ।

पर्यटनका लागि त्रिवेणी पाटन आकर्षक गन्तव्य हो । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणी सिमाना कालीकोट, सुदुरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, र डोटी जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन् ।  सिजन अनुसार पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको उचित प्रबन्ध छैन। यो क्षेत्रमा सबै सरोकारवालाको नजर पुगेको खण्डमा विदेशी पर्यटकलाई भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

बहुचर्चित बडीमालिका मन्दिरका कारण त्रिवेणी पाटन चर्चामा छ । धार्मिक मान्यता अनुसार यही त्रिवेणी पाटनमा टेकेर मात्र बडीमालिका दर्शन गर्न जानुपर्छ । यही मान्यता अनुसारै त्रिवेणीमा नुहाएर बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन रहिआएको हो ।

हरेक वर्ष जनैपूर्णिमाका दिन त्रिवेणीमा धार्मिक मेला लाग्छ । जनै पूर्णिमामा भारतको कुमाउ र गढवालदेखि भक्तजन त्रिवेणी आउने गरेको पुजारी कृष्णप्रसाद धमला बताउँछन् । उनी भन्छन्, ‘त्रिवेणी हुँदै बडिमालिका जाने हजारौं तीर्थालु हुन्छन् ।’

हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउँ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री बडिमालिका पुग्ने गर्छन् ।  

बडिमालिका मन्दिर ४ हजार २ सय मिटरको उचाइमा नेपालकै सबैभन्दा उच्च स्थानमा अवस्थित कलात्मक शक्तिपीठ हो । जसको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्व अत्यन्तै उच्च छ ।  नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत वर्ष पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि बडिमालिकाको निकै चर्चा छ ।

प्रकाशित: २३ श्रावण २०८३ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App