१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

बाढीले बगाएको सामान भेटिए के गर्ने ? यस्तो छ कानुनी व्यवस्थ

रसुवाको भोटेकोशीमा आएको बाढीपछि विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका सामान तथा वस्तुहरू भेटिन थालेपछि सरकारले त्यस्ता सामान आफूखुसी राख्न वा प्रयोग नगर्न आग्रह गरेको छ। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले शनिबार सूचना जारी गर्दै बाढीले बगाएर ल्याएको सामान भेटिएमा सामानको यथार्थ विवरणसहित प्रहरीलाई जानकारी गराउनुपर्ने जनाएको छ।

 मन्त्रालयका अनुसार भेटिएको सामान सुरक्षित राख्न सक्ने व्यवस्था रहेका र तीन वर्षसम्म कसैले दाबी नगरेमा कानूनबमोजिम त्यस्तो सामान भेटाउने व्यक्तिको हुन मन्त्रालयले जनाएको छ।

त्यस्तै, बाढीले बगाएर ल्याएको सामान वा रकम बदनियतपूर्वक लिएमा सम्बन्धित धनीलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ। रकममा लागेको ब्याज तथा वस्तुबाट प्राप्त लाभ वा प्रतिफलसमेत फिर्ता गर्नुपर्ने हुन्छ। त्यस्तो सामान आफ्नो साथमा राख्ने क्रममा कुनै हानि वा नोक्सानी भएमा क्षतिपूर्तिसमेत तिर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मुलुकी देवानी संहिता, २०७४ का दफा ६६७, ६७० र ६७१ लाई आधार बनाएर बाढी तथा विपद्का क्रममा भेटिने सामानसम्बन्धी कानुनी व्यवस्था सार्वजनिक गरेको हो। 

प्रकाशित: १३ भाद्र २०८३ १४:१७ शनिबार