७ आश्विन २०८३ बुधबार
image/svg+xml
खेल

लुम्बिनी लायन्समा अस्ट्रेलियन ब्याटर डार्सी शर्ट निरन्तर

नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी संस्करणका लागि साविक च्याम्पियन लुम्बिनी लायन्सले आफ्ना भरपर्दा अस्ट्रेलियन ओपनिङ ब्याटर डार्सी शर्टलाई टोलीमा निरन्तरता दिएको छ।

क्लबलाई च्याम्पियन बनाउन गत वर्ष महत्त्वपूर्ण भूमिका खेलेका ३६ वर्षीय शर्टलाई लुम्बिनीले पुनः अनुबन्ध गरेको हो।

गत सिजन लुम्बिनीलाई उपाधि दिलाउने क्रममा शर्टले सबै १० खेल खेल्दै १२१ भन्दा माथिको स्ट्राइक रेटमा एक अर्धशतकसहित २५६ रन बनाएका थिए।

उनी गत संस्करणको एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका थिए भने टोलीमा कप्तान रोहित पौडेलपछि सर्वाधिक रन बनाउने दोस्रो ब्याटर बनेका थिए।

अर्को महिना हुने एनपिएलका लागि लुम्बिनीले अनुबन्ध गरेका शर्ट तेस्रो विदेशी खेलाडी हुन्। यसअघि टोलीले गत सिजनको प्लेयर अफ द सिरिज नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालाई निरन्तरता दिइसकेको छ।

गत सिजन च्याम्पियन बन्दा लुम्बिनीको विदेशी खेलाडीको मुख्य भूमिकामा यी तीनै जना रहेका थिए।

लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले शर्टको अनुभव टोलीका लागि पुनः महत्त्वपूर्ण हुने बताएका छन्।

‘हाम्रो युवा टोलीलाई गत वर्ष जस्तै यस पटक पनि डार्सी शर्टको अनुभव निकै महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ कटवालले भने, ‘गत वर्षको च्याम्पियन यात्रामा उनले देखाएको फाइटिङ स्पिरिट हामीले कहिल्यै भुल्ने छैनौं। उनको उपस्थितिबाट हाम्रा युवा खेलाडीले धेरै सिक्ने अवसर पाउने छन्।’

प्रकाशित: ७ आश्विन २०८३ १७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App