फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएका गल्तीका लागि माफी मागेका छन्।
तर विवाद बढे पनि उनले फिफा अध्यक्ष पद भने छाड्नुपरेन। बुधबार मोरक्कोको रबातमा बसेको फिफा व्यवस्थापन बोर्डको बैठकले इन्फान्टिनोलाई अध्यक्षका रूपमा निरन्तरता दिने निर्णय गरेको हो। बैठकपछि फिफाले इन्फान्टिनोलाई पूर्ण समर्थन रहेको जनाएको छ।
इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए। त्यसको समर्थन गरेबापत फिफाका सदस्य संघलाई ४ करोड डलर दिने प्रस्ताव गरिएको थियो। उक्त योजनाप्रति युरोपेली फुटबल महासंघसहित फिफाभित्रैबाट समेत तीव्र आलोचना भएको थियो। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले समेत प्रक्रियालाई लिएर असन्तुष्टि जनाएका थिए।
तर बैठकपछि इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा सदस्य संघलाई पत्र पठाउँदै गल्तीप्रति माफी मागेका छन्। आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। यसैबीच, सन् २०३० को विश्वकप फाइनल मोरक्कोमा गराउने सहमतिका लागि इन्फान्टिनोले मोरक्कोको समर्थन मागेको भन्ने समाचार फिफाले अस्वीकार गरेको छ। फाइनल कहाँ हुने भन्ने निर्णय पछि गरिने फिफाले जनाएको छ।
प्रकाशित: २१ श्रावण २०८३ ०६:२९ बिहीबार





