५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

विश्वकपका खेलहरु अमेरिकाबाट मेक्सिको सार्ने इरानको प्रस्ताव अस्वीकार

विश्व फुटबलकाे सर्वोच्च निकाय  फिफाले २०२६ को विश्वकप खेलहरू गत वर्ष घोषणा गरिएको तालिका अनुसार हुने बताएको छ।

इरानमाथि अमेरिका-इजरायल युद्ध चलिरहेको कारणले गर्दा इरानले आफ्ना खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्न प्रस्ताव गरेको थियो। तर फिफाले तालिका बमोजिम नै हुने बताएको हो।

'फिफा विश्वकप २०२६ को योजनाबारे छलफल गर्न इरानसहित सबै सहभागी सदस्य संघहरूसँग नियमित सम्पर्कमा छ,' फिफाले विज्ञप्तिमा भनेको छ, 'फिफा ६ डिसेम्बर २०२५ मा घोषणा गरिएको खेल तालिका अनुसार प्रतिस्पर्धा गर्ने सबै सहभागी टोलीहरूको प्रतिक्षामा छ।'

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्न उक्त विश्वकप जुन ११ देखि सुरु हुनेछ। इरानले लस एन्जलसमा न्युजिल्याण्ड र बेल्जियमसँग र सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ।

मेक्सिकोले इरानको खेल आयोजना गर्न सक्छ भने प्रश्नमा  मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले मंगलबार आफूहरु तयार रहेको बताएकी थिइन्। 'मेक्सिकोले विश्वका हरेक देशसँग कूटनीतिक सम्बन्ध कायम राखेको छ, त्यसैले हामी फिफाले के निर्णय गर्छ भनेर पर्खनेछौं,' शेनबाउमले भनिन्।

प्रकाशित: ४ चैत्र २०८२ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App