आईसीसी विश्वकप लिग–२ मा नेपालको २०२७ को विश्वकप छनोटमा सिधै पुग्ने सम्भावना लगभग समाप्त भएको छ।
अब नेपालका लागि मुख्य चुनौती शीर्ष ६ मा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) हैसियत जोगाउनु बनेको छ। लिग–२ को शीर्ष चार टोलीले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछन्।
तर अहिले नेपाल तालिकाकरहेकाले अन्तिम चरणसम्म आइपुग्दा समीकरण निकै कठिन बनेको हो। नेपालले अब लिग–२ को अन्तिम चरणमा अक्टोबरमा ओमानमा खेल्नेछ। अन्तिम चरणमा नेपालले घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। तीनै टोलीबीच हुने यो चरण नेपालका लागि निकै निर्णायक हुनेछ।
नेपालले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाल्न सके अधिकतम ३२ अंकसम्म पुग्न सक्छ। तर ओमान, क्यानडा, नामिबिया र यूएईले पनि नेपालभन्दा बढी अंक जोड्ने सम्भावना राखेकाले नेपालले आफ्ना खेल जितेर मात्रै शीर्ष ६ सुरक्षित गर्न सक्ने अवस्था छैन। अरू टोलीको नतिजा पनि नेपालको पक्षमा आउनुपर्नेछ।
अहिलेको समीकरणमा शीर्ष चारमा पुग्नु नेपालका लागि लगभग असम्भवजस्तै बने पनि छैटौँ स्थानसम्म रहन सके ओडीआई हैसियत जोगिने सम्भावना बलियो हुन्छ। छैटौँभन्दा तल झरेमा भने नेपालले विश्वकप छनोट प्लेअफको कठिन बाटो समात्नुपर्नेछ। त्यसैले ओमानमा हुने अन्तिम चरण नेपालका लागि विश्वकपको सपना बचाउनेभन्दा पनि ओडीआई हैसियत जोगाउने अन्तिम परीक्षा बन्नेछ। क्यानडा र ओमानविरुद्धका खेलमा नेपालले अधिकतम अंक निकाल्दै शीर्ष ६ सुरक्षित गर्नुपर्नेछ।
प्रकाशित: २२ श्रावण २०८३ ०८:४९ शुक्रबार





