२४ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

बार्सिलोनामा १८ वर्ष बिताएका सर्जी रोबर्टो अब अमेरिकामा, एलए ग्यालेक्सीमा आबद्ध

बार्सिलोनामा आफ्नो करियरको लामो समय बिताएका स्पेनिस मिडफिल्डर सर्जी रोबर्टो अब अमेरिकी क्लब एलए ग्यालेक्सीबाट खेल्ने भएका छन्।

३४ वर्षीय रोबर्टोले निःशुल्क स्थानान्तरणमार्फत ग्यालेक्सीसँग सम्झौता गरेका हुन्। रोबर्टोले ग्यालेक्सीसँग सन् २०२८ जुन ३० सम्मको सम्झौता गरेका छन्। सम्झौतामा थप एक वर्ष लम्ब्याउने विकल्पसमेत राखिएको छ। आवश्यक पी–१ भिसा प्राप्त गरेपछि उनको क्लब प्रवेश औपचारिक भएको हो। रोबर्टोका लागि एलए ग्यालेक्सीको यात्रा नयाँ अध्याय हो।

उनी इटालियन क्लब कोमो १९०७ मा दुई सिजन बिताएर अमेरिका पुगेका हुन्। यससँगै उनले आफ्नो व्यावसायिक करियरको सबैभन्दा महत्वपूर्ण अध्याय बनेको बार्सिलोनासँगको १८ वर्ष लामो सम्बन्धलाई पूर्ण रूपमा टुंग्याएका छन्। बार्सिलोनाको युवा एकेडेमीबाट फुटबल करियर अघि बढाएका रोबर्टोले क्लबको पहिलो टोलीमा समेत लामो समय महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले बार्सिलोनाका लागि चार सयभन्दा बढी खेल खेल्दै २५ वटा उपाधि जितेका थिए।

बार्सिलोनामा रहँदा रोबर्टोले मिडफिल्डसँगै आवश्यकताअनुसार डिफेन्समा समेत खेल्दै आफूलाई बहुपयोगी खेलाडीका रूपमा स्थापित गरेका थिए। उनको अनुभव र टोलीका लागि आवश्यक समयमा जिम्मेवारी लिन सक्ने क्षमताका कारण उनी बार्सिलोनाका समर्थकमाझ पनि विशेष परिचित बने। बार्सिलोनापछि कोमो हुँदै अब रोबर्टोको नयाँ गन्तव्य मेजर लिग सकर बनेको छ। उनी एलए ग्यालेक्सीको अन्तर्राष्ट्रिय खेलाडीको स्थानमा रहनेछन्। 

प्रकाशित: २४ श्रावण २०८३ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App