१० मंसिर २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

प्राज्ञ लक्ष्मी उप्रेतीसहित लेटाङका नौ स्रष्टा तथा समाजसेवी सम्मानित

मोरङको लेटाङमा प्राज्ञ लक्ष्मी उप्रेतीसहित साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका नौ व्यक्तित्व सम्मानित भएका छन्।

लिटिल फ्लावर्स बोर्डिङ स्कुलको आयोजना तथा लेटाङ साहित्य कला संगमको सहकार्यमा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।

लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी संस्थापक सिर्जना देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विराटनगर निवासी प्राज्ञ लक्ष्मी उप्रेतीलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा लेटाङ साहित्य कला संगमका सल्लाहकार कमल अधिकारीले सम्मानित व्यक्तित्व प्राज्ञ उप्रेतीको व्यक्तित्व र साहित्यिक योगदानबारे चर्चा गरेका थिए।

यसैगरी लेटाङका पूर्वजनप्रतिनिधि तथा समाजसेवी चन्द्र गौतम, साहित्यकार विश्व पागल, मूर्तिकार श्रीप्रसाद किराँती, साहित्यकार डिल्लीराम ओझा, मूर्तिकार ओमप्रकाश विश्वकर्मा, काष्ठकलाकार मणिहर्क राई, संगीतकार प्रह्लाद बोगटी र साहित्यकार विष्णु न्यौपानेलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बराल, विशिष्ट अतिथि लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला तथा विद्यालयकी संस्थापक सिर्जना देवकोटा लगायतले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला तथा खादा ओढाएर सम्मानपत्र प्रदान गरिएकाे थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले प्राज्ञ लक्ष्मी उप्रेतीको योगदानको चर्चा गर्दै साहित्य, कला, संस्कृति तथा सिर्जनाका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गर्ने आयोजक संस्थाको प्रयासको प्रशंसा गरे। उनले यस्ता सम्मानले स्रष्टा तथा कलाकारहरूलाई आआफ्नो क्षेत्रमा निरन्तर क्रियाशील रहन थप प्रेरणा र हौसला प्रदान गर्ने बताए।

त्यसैगरी, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ साहित्य कला संगम र लिटिल फ्लावर्स बोर्डिङ स्कुलले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै नगरको साहित्यिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले दुवै संस्थाको सक्रियताको प्रशंसा गर्दै नगरपालिकाले पनि साहित्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे। आगामी दिनमा यस क्षेत्रको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरू प्राज्ञ लक्ष्मी उप्रेती र चन्द्र गौतमले आफूहरूको योगदानको मूल्यांकन गर्दै सम्मान गरेकोमा आयोजक संस्थाहरूप्रति आभार व्यक्त गरेका थिए।

लेटाङ साहित्य कला संगमका सचिव पर्शुराम निरौलाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीका न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्नुका साथै सामूहिक गायनमार्फत सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि, साहित्यकार, सञ्चारकर्मी, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा सम्मानित व्यक्तित्व साहित्यकार विष्णु न्यौपानेले ‘कर्मजीवि बनौँ’ शीर्षकको कविता वाचन गरेका थिए। उनको कविताले उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

प्रकाशित: १० मंसिर २०८३ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App