८ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्!

मुक्तक

१) मुक्तक

सधैं अपराध गर्नेकै मनमा भय हुनेछ

मिठो बोल्नेकै स्वभावमा विनय हुनेछ

सही र गलत छुट्याउन नसक्नेहरूलाई,

के गरौं न गरौं भन्ने कुराको संशय हुनेछ।

२) मुक्तक

जति गर्दा पनि उनलाई फकाउन सकिनँ

जे गरे पनि मैले उनलाई हँसाउन सकिनँ

उनले मलाई छोडी निकै टाढा गए तापनि,

उनको मायालाई मनबाट हटाउन सकिनँ।

३) मुक्तक

उनले मेरो मुटु छियाछिया पारेर गइन्

सुकेको रुखजस्तै मलाई ढालेर गइन्

सबैको सामु मेरो इज्जत र प्रतिष्ठाको,

धारिलो हतियारले छाला काढेर गइन्।

४) मुक्तक

गरिब मान्छेलाई धनीसँग दाज्नेहरू छन्

मुस्किलमा परेको देख्दा नाच्नेहरू छन्

एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै,

अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्।

५) मुक्तक

सजिलै हुन्छ ठानी परीक्षामा फेल भइन्

गाह्राे संकाय छानी परीक्षामा फेल भइन्

साँच्चै विचार गर्दा यस्तो पो लाग्यो मलाई,

उनी त जानी जानी परीक्षामा फेल भइन्।

६) मुक्तक

अझै पनि तिमी मलाई देखेर जल्ने भए केही छैन

अझै तिमी नराम्रो बाटामा नै चल्ने भए केही छैन

बुझ्दिनौ भने जति बुझाउँदा पनि तिमी के नै गर्नु,

आफ्नै मुहारमा आफैँले कालो दल्ने भए केही छैन।

७) मुक्तक

केही दिन सहरमा विलाउन पाए हुन्थ्यो

काठमाडौंतिरै मन बिसाउन पाए हुन्थ्यो

आफ्नो गाउँघर छोडेर साँचिक्कै म पनि,

उतैतिर यो जीवन बिताउन पाए हुन्थ्यो।

८) मुक्तक

साहित्य सिर्जना सिक्न पनि चाहना हुनुपर्छ

सधैँ कविता गजल फुर्न पनि तिर्सना हुनुपर्छ

एकदिन महान् व्यक्ति बनेर देखाउनु छ भने,

कसैको खिलाफ नगर्ने मनमा भावना हुनुपर्छ।

९) मुक्तक

यो देशका समस्या समाधान भए हुन्थ्यो

मुलुक हाँक्नेहरू पनि विद्वान् भए हुन्थ्यो

किन होला साँच्चिकै यस्तो लाग्छ मलाई,

अहिलेको सरकार भगवान् भए हुन्थ्यो।

१०) मुक्तक

यो जीवन दिगो छ त्यसैले केही गरी पैसा जमाउन चाहन्छु

यही जीवनमा उनीसँगै सुखदुःखमा रमाउन चाहन्छु

मन मेरो चोखो छ साँच्चै भन्दै छु उनीलाई नै सम्झेर,

अब चिन्ता फिकिर केही नलिई जीवनमा कमाउन चाहन्छु।

हरिलाल चौधरी  

प्रकाशित: ८ कार्तिक २०८३ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App