९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
ब्लग

लोकप्रियता स्थायी हुँदैन

‘सबैको लोकमा छैन एकै नासको सम्मुन्नति,
अरूको के कुरा हेर, सन्ध्यामा सूर्यको गति।’ कविशिरोमणि लेखनाथ पौड्याल

संसारको चञ्चल कुराहरुमध्ये लोकप्रियता पनि एक हो। आज जसलाई हेर्न मानिसहरूको भीड लाग्छ, भोलि उसैप्रति चासो घट्न सक्छ। आज जसको एउटा शब्दले जनमत तरङ्गित हुन्छ, समय फेरिँदा त्यही आवाज सामान्य लाग्न सक्छ। आज जसको उपस्थितिलाई सफलताको प्रमाण मानिन्छ, भोलि उसको विगत मात्र चर्चा हुन सक्छ। त्यसैले लोकप्रियतालाई स्थायी उपलब्धि ठान्नु भ्रम हो। लोकप्रियता समय, परिस्थिति, अपेक्षा, व्यवहार र जनभावनासँगै बदलिने अवस्था हो। यसको उचाइमा पुग्नु महत्वपूर्ण भएपनि सधैँभर त्यहाँ रहिरहन सम्भव हुँदैन।

प्रकृतिले हरेक दिन यही सत्य देखाइरहेको हुन्छ। बिहान उदाएको सूर्य विस्तारै आकाश चढ्छ, मध्याह्नमा तेजस्वी हुन्छ र साँझ पर्दै जाँदा क्षितिजतिर झर्छ। सूर्यको गति रोकिँदैन। उसको उचाइ स्थायी हुँदैन। तर सूर्य अस्ताएको अर्थ उसको अस्तित्व समाप्त भएको होइन। भोलिपल्ट फेरि उदाउने उसको आफ्नै समय हुन्छ। मानिसको जीवन, पद, प्रतिष्ठा, शक्ति र लोकप्रियताको चक्र पनि यस्तै हुन्छ। उचाइ र ओरालो दुवै जीवनका स्वाभाविक अवस्था हुन्।

राजनीतिक र सार्वजनिक जीवनमा लोकप्रियताको उतारचढाव अझ तीव्र देखिन्छ। कुनै कठिन राष्ट्रिय परिस्थितिमा जनताले दृढता, आत्मविश्वास र स्पष्ट अडान खोज्छन्। त्यस्तो समयमा कसैको एउटा निर्णय वा अभिव्यक्तिले जनताको मन जित्न सक्छ। संकटका बेला देखिएको नेतृत्वले असाधारण लोकप्रियता प्राप्त गर्न सक्छ। तर परिस्थिति सधैँ संकटमै रहँदैन। समय बदलिन्छ, प्राथमिकता बदलिन्छ, नयाँ प्रश्नहरू उठ्छन् र जनताको अपेक्षा पनि परिवर्तन हुन्छ। त्यसपछि हिजोको लोकप्रियताको मापदण्डले आजको मूल्याङ्कन गर्न सकिँदैन। केही वर्षअघि असाधारण जनसमर्थन पाएको सार्वजनिक व्यक्तित्वप्रति पछि घृणा जाग्नु र आज लोकप्रिय देखिएको व्यक्तित्वप्रति भविष्यमा जनधारणा बदलिन सक्नु एउटै सामाजिक नियमका फरक अभिव्यक्ति हुन्।

लोकप्रियता प्रायः उपलब्धि र अपेक्षाको बीचमा निर्माण हुन्छ। मानिसले आफूले खोजेको कुरा कुनै व्यक्तिमा देख्दा उसलाई समर्थन गर्छ। कसैले परिवर्तनको आशा जगाउँछ, कसैले सुशासनको, कसैले राष्ट्रिय स्वाभिमानको, कसैले नयाँ राजनीतिक संस्कारको। तर समर्थनसँगै अपेक्षा पनि बढ्छ। अपेक्षा पूरा भए लोकप्रियता बलियो हुन सक्छ; अपेक्षा र व्यवहारबीच दूरी बढे लोकप्रियता कमजोर हुन सक्छ। त्यसैले जनताको समर्थनलाई आफ्नो स्थायी सम्पत्ति ठान्नु जोखिमपूर्ण हुन्छ। समर्थन अधिकार होइन, समयले दिएको विश्वास हो।

यही कारण लोकप्रियताको शिखरमा पुगेका व्यक्तिमा सबैभन्दा बढी आत्मसंयम आवश्यक छ। भीड आफ्नो पक्षमा हुँदा आफू हरेक कुरामा सही जस्तो लाग्न सक्छथालेको । प्रशंसाका आवाजबीच कमजोरी देखिँदैनन्। आलोचकहरू विरोधी जस्ता लाग्न सक्छन्। तर लोकप्रियताको वास्तविक परीक्षा प्रशंसाको समयमा होइन, आलोचनाको समयमा हुन्छ। आफ्नो आलोचना सुन्न सक्ने, गल्ती स्वीकार गर्न सक्ने र समयको बदलिँदो संकेत बुझ्न सक्ने व्यक्तिले मात्र लोकप्रियताको उतारचढावलाई सहज रूपमा सामना गर्न सक्छ।

आजको पुस्तामा लोकप्रियता अझ छिटो निर्माण र क्षय भइरहेको छ। सामाजिक सञ्जालले कुनै व्यक्तिको विचार, अभिव्यक्ति, काम वा व्यवहारलाई क्षणभरमै हजारौँ–लाखौँ मानिससम्म पुर्‍याउन सक्छ। एउटा छोटो दृश्यले रातारात चर्चा पाउन सक्छ। एउटा अभिव्यक्तिले समर्थनको लहर ल्याउन सक्छ। तर त्यही माध्यमले केही समयमै आलोचनाको लहर पनि ल्याउन सक्छ। डिजिटल संसारमा लोकप्रियताको गति तीव्र भएको छ, त्यसैले त्यसको स्थायित्व झन् अनिश्चित बनेको छ। भाइरल हुनु र दीर्घकालीन प्रभाव छोड्नु एउटै कुरा होइन।

लोकप्रियताको यही नियम व्यक्तिगत जीवनमा पनि लागू हुन्छ। मानिसको जीवनमा उमेरसँगै धेरै कुरा बदलिन्छन्। बाल्यकालमा खेल, रमाइलो र नयाँ वस्तुप्रतिको कौतूहल महत्वपूर्ण हुन्छ। युवावस्थामा जोखिम मोल्ने साहस, नयाँ अनुभवको खोजी, साथीभाइको संगत र भीडभाडको आकर्षण बढ्छ। त्यो समयमा मानिसलाई संसार फराकिलो लाग्छ र धेरै कुरा तत्काल प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वास हुन्छ। तर उमेर बढ्दै जाँदा जीवनको दृष्टिकोण विस्तारै बदलिन्छ।

जुन भीड युवावस्थामा रमाइलो लाग्थ्यो, पछि त्यही भीड थकानको कारण बन्न सक्छ। रात अबेरसम्म बस्ने बानीको ठाउँमा समयमै आराम गर्न मन लाग्न सक्छ। धेरै मानिससँग घुलमिल हुनुभन्दा केही आत्मीय मानिससँग शान्त समय बिताउन रुचि बढ्न सक्छ। जोखिम मोल्नेभन्दा परिणाम सोच्ने बानी बस्न सक्छ। यसको अर्थ मानिस कमजोर भएको होइन; उसको प्राथमिकता बदलिएको हो। उमेरले मानिसको ऊर्जा मात्र परिवर्तन गर्दैन, उसको चाहना र संसारलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्छ।

युवावस्थाको शक्ति सधैँ रहँदैन भन्ने सत्य स्वीकार गर्न नसक्दा मानिस आफ्नै विगतसँग संघर्ष गर्न थाल्छ। पहिले जस्तो दौडिन नसक्दा, पहिले जस्तो रातभर जाग्न नसक्दा वा पहिले जस्तो भीडमा रमाउन नसक्दा आफूमा केही कमी आएको ठान्नु आवश्यक छैन। जीवनको प्रत्येक चरणको आफ्नै सौन्दर्य हुन्छ। बाल्यकालले कौतूहल दिन्छ, युवावस्थाले ऊर्जा दिन्छ र परिपक्वताले अनुभव तथा विवेक दिन्छ। समयको सुन्दरता यही परिवर्तनमा छ।

त्यसैले मानिसले आफ्नो मूल्यलाई पद, शक्ति, सौन्दर्य, सम्पत्ति वा लोकप्रियतासँग मात्र जोड्नु हुँदैन। पद गुम्न सक्छ, शक्ति घट्न सक्छ, सम्पत्ति सकिन सक्छ, सौन्दर्य बदलिन सक्छ र लोकप्रियता हराउन सक्छ। तर चरित्र, इमानदारी, व्यवहार र अरूप्रतिको सम्मानले मानिसको वास्तविक परिचय लामो समयसम्म जोगाउन सक्छ। भीडले साथ छाडेपछि पनि आफ्नो आत्मसम्मान जोगाउन सक्नु नै ठूलो उपलब्धि हो।

इतिहासले पनि यही शिक्षा दिन्छ। कुनै समय प्रभावशाली रहेका पात्रहरू समयको प्रवाहसँगै इतिहासका पानामा सीमित भएका छन्। उनीहरूको पद गयो, सत्ता गयो, प्रभाव घट्यो; तर उनीहरूले गरेका काम, निर्णय र व्यवहारका परिणाम बाँकी रहे। यसबाट बुझ्न सकिन्छ—मानिसको स्थायी मूल्य उसको लोकप्रियतामा होइन, उसले छोडेको प्रभावमा निर्भर हुन्छ। लोकप्रियता केहि क्षणको ताली हुन सक्छ; योगदान भने समयको स्मृति बन्न सक्छ।

त्यसैले आज प्रशंसा पाउँदा मात्तिनु र आलोचना हुँदा आत्तिनु हुँदैन। आजको उचाइलाई अन्तिम सत्य र आजको ओरालोलाई अन्तिम पराजय ठान्नु दुवै गलत हो। समयको चक्रमा कुनै अवस्था स्थिर रहँदैन। सूर्य अस्ताउँछ, तर भोलि फेरि उदाउँछ। मानिसको प्रभाव घट्न सक्छ, तर नयाँ भूमिकामा नयाँ अर्थ भेटिन सक्छ।

जीवनको परिपक्वता भनेकै समयले दिएको उचाइमा विनम्र रहनु र समयले ल्याएको परिवर्तनलाई सहजतापूर्वक स्वीकार गर्नु हो। लोकप्रियता पाउनु उपलब्धि हुन सक्छ, तर लोकप्रियता गुम्दा पनि आफ्नो मूल्य नगुमाउनु ठूलो कुरा हो। किनकि भीड सधैँ एउटै हुँदैन, समय सधैँ एउटै हुँदैन र मानिस स्वयं पनि सधैँ उस्तै रहँदैन। अन्ततः बाँकी रहने कुरा तालीको आवाज होइन, आफ्नो पदचापले छोडेको छाप हो।

लोकप्रियता स्थायी हुँदैन; समयको गति स्थायी हुन्छ। त्यसैले लोकप्रियताभन्दा चरित्र, पदभन्दा योगदान र भीडभन्दा आफ्नो विवेकलाई बलियो बनाउनु नै जीवनको दीर्घकालीन बाटो हो।

प्रकाशित: ९ आश्विन २०८३ १८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App