४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा आधा भरिएको एलपी ग्यासको मूल्य १३ सय रुपैयाँ !

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सिलिण्डरको वजन घटे पनि ढुवानी खर्चका कारण ताप्लेजुङका उपभोक्ताले आधा भरिएको खाना पकाउने ग्यासमा महंगीको सामना गर्नुपर्ने भएको छ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमका अनुसार, बुधबार जिल्लाका ग्यास सिलिण्डर बिक्रेताहरूको भेलाले ७.१ किलोग्राम वजनको आधा भरिएको एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १,३०० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।

यसअघि फुङलिङमा १४.२ किलोग्राम पूर्ण भरिएको सिलिण्डर २,२०० रुपैयाँमा बिक्री हुँदै आएको थियो। अब आधा भरिएको सिलिण्डर (७.१ किलोग्राम) का लागि उपभोक्ताले १,३०० रुपैयाँ तिर्नुपर्ने भएको छ।

नेपाल आयल निगमले भने आधा भरिएको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ तोकेको थियो।

गौतमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वजन कम भए पनि ढुवानीका क्रममा सिलिण्डरले ओगट्ने स्थानका कारण ढुवानी खर्च बढ्ने भएकाले मूल्य अलिक बढी परेको बताए। उनले भने, “ढुवानीकर्ताले आधा र पूर्ण भरिएको सिलिण्डर दुवैको ढुवानी लागत लगभग समान पर्न जाने बताएका छन्। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यस्तो स्थिति सिर्जना गरेको हो।”

सिलिण्डर बिक्रेताले लामो छलफलपछि मूल्यमा सहमति कायम गरेको गौतमले बताए। यसबारे प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई पनि पहिले नै जानकारी गराइएको थियो।

प्रजिअ सेढाइँले यस परिस्थिति हेर्दै, ढुवानी खर्च कम गर्न र उपभोक्तालाई राहत दिनका लागि ताप्लेजुङमा १४.२ किलोग्राम पूर्ण भरिएको सिलिण्डरको व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार पनि गरेका थिए।

प्रकाशित: ४ चैत्र २०८२ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App