विराटनगरमा घर निर्माणसम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। विराटनगरस्थित जैन भवनमा चैत १३ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ।
आयोजक उद्योग संगठन मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी पहिलोपटक यस्तो प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो। संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार व्यवसायदेखि उपभोक्तासम्मको नेटवर्क विस्तार गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो।
उनले निर्माण क्षेत्रलाई चलायमान बनाउन तथा यस क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको बताए।
प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहनेछन्। जसमा डिजाइन तथा प्लानिङअन्तर्गत वास्तुकला, संरचनात्मक इन्जिनियरिङ, निर्माण सामग्रीअन्तर्गत सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, सेफ्टी सामग्रीलगायतका उत्पादन तथा सेवाहरू समावेश हुनेछन्।
यस्तै फर्निचर तथा फिक्स्चरअन्तर्गत मोड्युलर किचन, वार्डरोब, ढोका, झ्याल, हार्डवेयर, पर्दा तथा कपडालगायतका सामग्रीहरू पनि प्रदर्शनीमा राखिनेछन्।
त्यसैगरी निर्माण सेवा, बैंक तथा बीमा कम्पनीहरूले प्रदान गर्ने वित्तीय तथा बीमा सेवाहरू पनि प्रदर्शनीमा समेटिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा सहभागीका लागि दैनिक दुई घण्टाका विशेष विषयगत सत्रहरू पनि सञ्चालन गरिने जानकारी दिइएको छ।
प्रकाशित: ५ चैत्र २०८२ १८:२६ बिहीबार





