१३ भाद्र २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : ३२० भारतीय सम्पर्कविहीन, चीनमा रहेका ४०० जना सम्पर्कमा

फाइल तस्बिर

नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी-पहिरोबाट ७२० भारतीय प्रभावित भएका छन्।

भारतको विदेश मन्त्रालयका अनुसार नेपालमा ३२० भारतीय नागरिक अझै सम्पर्कविहीन छन्। यस्तै, चीनको तिब्बतमा ४०० भारतीय नागरिक अलपत्र भएका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार तिब्बतमा अलपत्र परेका १५३ भारतीय सुरक्षित रूपमा नेपाल प्रवेश गरेका छन्। 

नेपालका बाढी प्रभावित क्षेत्रबाट २१ भारतीय शुक्रबार नयाँ दिल्ली फर्किएका थिए। उनीहरूलाई भारतका विदेशमन्त्री एस जयशंकरले विमानस्थलमा स्वागत गरेका थिए। जयसवालले नेपालमा सम्पर्क हुन नसकेका वा बेपत्ता भारतीय नागरिकको संख्या ३२० रहेको बताए। ‘हामीले सम्पर्क गर्न नसकेका वा बेपत्ता भएका भारतीयको संख्या अहिले ३२० रहेको छ,’ उनले भने।

त्रिशुली-१ जलविद्युत आयोजनामा काम गरिरहेका ६३ भारतीय नागरिकको उद्धार गरिएको पनि उनले बताए। भारतीय मूलका करिब १०० जना पनि सम्पर्कविहीन रहेको र उनीहरू कैलाश मानसरोवर यात्राका लागि गएको हुन सक्ने उनले बताए।

चीनमा रहेका ४०० भारतीय नागरिक भने सुरक्षित रहेको जयसवालले बताए। उनीहरू आफ्ना परिवारसँग सम्पर्कमा रहेको र बेइजिङस्थित भारतीय दूतावासले पनि उनीहरूसँग समन्वय गरिरहेको उनले बताए। चीनका स्थानीय अधिकारीसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ।

प्रकाशित: १३ भाद्र २०८३ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App