२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडान भर्ने क्रममा धावनमार्गमा विमानको ठक्करबाट एकको मृत्यु

शुक्रबार राति डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गबाट ​​उडान भर्ने क्रममा अमेरिकी एयरलाइन्स फ्रन्टियर एयरलाइन्सको विमानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

विमानस्थलको विज्ञप्ति अनुसार ठोक्किँदा इन्जिनमा साानो आगो लाग्यो, जुन डेनभर अग्नि नियन्त्रण विभागले तुरुन्तै निभायो।

क्याबिनमा धुवाँ देखिएको थियो र सावधानीका रूपमा विमानमा रहेका सबै २२४ जनालाई आपतकालीन स्लाइडहरू मार्फत बाहिर निकालिएको फ्रन्टियर एयरलाइन्सले एक विज्ञप्तिमा जनाएको छ।

विमानस्थलका अनुसार ती व्यक्ति सुरक्षा घेरा पार गरेर विमानस्थलमा प्रवेश गरेका थिए र दुई मिनेटपछि धावनमार्ग पार गर्ने क्रममा विमानले उनलाई ठक्कर दिएको थियो।

फ्रन्टियर एयरलाइन्सले यस घटनाबाट आफूहरूलाई दुखी तुल्याएको बताएको छ।

अधिकारीहरूका अनुसार फ्रन्टियर एयरलाइन्सको उडान स्थानीय समय अनुसार राति ११ बजे डेनभरबाट लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै गर्दा ती व्यक्तिलाई ठक्कर दिइएको थियो।

एयर ट्राफिक कन्ट्रोलको अडियो रेकर्डिङ अनुसार एयर ट्राफिक कन्ट्रोलरले उडान भर्न अनुमति दिँदै पाइलटलाई शुभ रात्री भनेका थिए, केही सेकेन्डपछि पाइलटले अचानक टावरलाई फेरि सम्पर्क गरे।

पाइलटले टावरलाई भने, 'हामी धावनमार्गमा रोकिरहेका छौं। हामीले कसैलाई ठक्कर दिएका छौं। हाम्रो इन्जिनमा आगो लागेको छ।'

प्रकाशित: २७ वैशाख २०८३ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App