दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा समुद्री चराको मृत्यु एच ५ एन १ बर्डफ्लुका कारण भएको पुष्टि भएको छ।
सोमबार कृषि, मत्स्य तथा वनमन्त्री जुली कोलिन्स र वातावरण तथा जलमन्त्री मरे वाटले पत्रकार सम्मेलनमा ‘ग्रेटर क्रेस्टेड टर्न’ प्रजातिका चरामा अत्यधिक सङ्क्रामक एच५ एन१ एभियन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको जानकारी दिए।
दक्षिण अष्ट्रेलियामा एच५ एन१ सङ्क्रमण फैलिरहेका बेला शुक्रबार राज्यको दक्षिण–पूर्वी तटबाट करिब पाँच किलोमिटर टाढा रहेको एक सानो टापुमा हवाई निगरानीका क्रममा ४९ वटा मृत र ३५ वटा बिरामी चरा फेला परेका थिए।
मन्त्री कोलिन्सले जुनको मध्यतिर अष्ट्रेलियाको मुख्य भूमिमा पहिलो पटक एच५ एन१ भाइरस देखिएपछि वन्यजन्तुमा यस्तो सामूहिक मृत्युको घटना हुनसक्ने अनुमान गरिएको बताए। ‘जब एच ५ बर्डफ्लु वन्यजन्तु र प्राकृतिक वातावरणमा फैलिन्छ, त्यसबाट हुने ठूलो क्षति रोक्न कठिन हुन्छ। अहिले हामी त्यही अवस्था देखिरहेका छौँ’, उनले भने।
उनले अष्ट्रेलियालीहरूले आगामी दिनमा भाइरस थप फैलिन सक्ने र प्रभावित वन्यजन्तुको सङ्ख्या बढ्न सक्ने अवस्थाका लागि तयार रहनुपर्ने बताए।
अष्ट्रेलिया सरकारले मुख्य भूमिमा भाइरस देखिनुअघि नै एच५ एन१ प्रकोपको निगरानी, प्रतिकार्य र पूर्वतयारीका लागि ११ करोड ३० लाख अष्ट्रेलियाली डलर (करिब ७ करोड ९५ लाख अमेरिकी डलर) विनियोजन गरेको थियो।
मन्त्री वाटका अनुसार भाइरस नियन्त्रणका लागि राष्ट्रिय योजना कार्यान्वयनमा ल्याइएको छ भने थप २ करोड ४० लाख अष्ट्रेलियाली डलर (करिब १ करोड ६९ लाख अमेरिकी डलर) बजेट छुट्याइएको छ।सिन्ह्वा
प्रकाशित: १८ श्रावण २०८३ १७:४७ सोमबार





