१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

९३ वर्षपछि खुल्यो भक्तपुरको सिलु महादेव मन्दिर, भक्तजनको भीड

भक्तपुरको ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको सिलु महादेव मन्दिर भित्र प्रवेश गर्ने ढोका खुल्ला भएपछि भक्तजनको भीड देखिन थालेको छ।

१९९० सालको विनाशकारी भूकम्पपछि बन्द भएको मन्दिरको ढोका यही वर्ष साउन महिनाको पहिलो सोमबारदेखि खुला गर्न थालिएको थियो।

मन्दिरको ढोका नौ दशकपछि अर्थात् ९३ वर्षपछि खुलाइएको हो। भक्तपुर नगरपालिका वडा नं २ दरबार क्षेत्रमा पर्ने यो मन्दिर वडा कार्यालयमा भएको सरोकारवालासँगको सरसल्लाहपछि यो वर्षदेखि खुलाइएको हो। मन्दिरको ढोका साउन महिनाको सोमबारका दिन मात्रै खुल्नेछ।

मन्दिर भक्तपुर दरबार एरियामा रहेको छ। अग्लो मन्दिरको भित्र पुग्न सयौँ खुड्किला चढ्नुपर्छ। तर पनि भक्तजनहरू अग्लो खुड्किला चढेर मन्दिरभित्र पसेका थिए।

सोमबार पनि मन्दिर भित्र पस्न चाहने भक्तजनको भीड लागेको थियो। मन्दिरभित्र पस्न चाहने भक्तजनहरूको भीड बढेपछि नेपाल स्काउटले लाइनमा राखेर भक्तजनलाई सहज व्यवस्थापन गरिदिएको थियो।

सयौँ सिँढी चढ्नुपर्ने अग्लो मन्दिर भित्र पुग्न बैसाखीको सहायताले हिँड्नुपर्ने भक्तजनलाई पनि रोक्न सकेन। सकी नसकी खतरा मोलेरै त्यस्ता भक्तजन पनि मन्दिरभित्र चढेको देखियो। यसले मन्दिर परिसरको माहौल नै फरक देखिएको थियो।

सिलु महादेव व्यवस्थापन समितिका सचिव सत्यराम सुवालका अनुसार सिलु महादेवलाई रसुवाको गोसाईंकुण्ड महादेवकै स्वरूपका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। भक्तपुर नगरपालिका, पुरातत्त्व विभाग, राष्ट्रिय सङ्ग्रहालय तथा सम्बन्धित वडाको समन्वयमा हाल साउन महिनाका सोमबारहरूमा मात्रै दर्शन खुला गरिएको उनले जानकारी दिए।

साउन महिनाभर प्रत्येक सोमबार दर्शनका लागि खुला गरिएपछि भक्तजनको उल्लेख्य भीड हप्तैपिच्छे निरन्तर बढ्न थालेको जानकारी उनले गराए।

यो मन्दिरसँग एउटा रोचक पौराणिक जनविश्वास जोडिएको छ। स्थानीय इतिहासविद् जीआर रञ्जितका अनुसार भक्तपुरका एक तीर्थयात्री गोसाईंकुण्ड दर्शनका क्रममा हराएको औँठी फर्किएपछि हालको भक्तपुर व्यासीको कालदह पोखरीमा फेला परेको विश्वास गरिन्छ।

त्यसै घटनालाई आधार मानेर उक्त स्थानमा गोसाईंकुण्ड महादेव अर्थात् सिलु महादेवको स्थापना भएको जनश्रुति छ। यही कारण भक्तपुर औद्योगिक क्षेत्रस्थित कालदह पोखरीको जल सिलु महादेवलाई चढाउने परम्परा आज पनि कायम रहेको छ।

यही धार्मिक परम्परालाई कायम गर्न सोमबार ‘नि–ना (निल) यात्रा’ आयोजना गरिएको थियो। यस क्रममा बिहान ६ बजे कालदहबाट शुद्ध जल ल्याई सिलु महादेवमा जलाभिषेक गरिएको थियो। यात्रामा सहभागी भक्तजनले कालदहबाट शुद्ध जल ल्याई सिलु महादेवसम्म पैदल हिँडेर पुगी आआफै जलाभिषेक गरेका थिए।

यसअघि आयोजक सिलु महादेव व्यवस्थापन समितिले सहभागी भक्तजनलाई आफ्नै सानो लोटा साथमा ल्याउन आग्रह गरेको थियो। सोही आग्रह अनुसार भक्तजनहरूले आफैं सानो लोटाका साथमा कालदहबाट जल ल्याई दरबार क्षेत्रमा रहेको मन्दिरभित्र चढाएका थिए।

कालदह र सिलु महादेव मन्दिर एउटै वडामा परे पनि एक किलोमिटर बढी दुरीको फरकमा छ।

साउन महिनाको पवित्र अवसरमा आयोजना भएको जलयात्राले शिवभक्तहरूलाई सामूहिक रूपमा भगवान् शिवप्रति श्रद्धा व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै धार्मिक परम्परा र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास सहभागीले गरेका थिए।

श्रावण महिनामा भगवान् शिवप्रतिको आस्था बढ्दै जाँदा सिलु महादेव शिवभक्तहरूको आकर्षक धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको उनीहरूको भनाई छ।

१९९० सालको भूकम्पपछि पहिलो पटक जीर्णोद्धार गरिएको मन्दिर २०७२ सालको विनाशकारी भूकम्पले पुनः क्षति पुर्याएपछि पुनर्निर्माण गरिएको थियो। पुरातत्त्व विभागको मातहतमा रहेको यस सम्पदालाई संरक्षण गर्दै दर्शनका लागि खुला गरिएपछि स्थानीयवासी, आन्तरिक पर्यटक तथा धार्मिक पर्यटकको आकर्षण बढ्न थालेको हो।

नौ दशकपछि खुलेका कारण पनि सो मन्दिरको महिमा चुलिएको छ। स्थानीय धार्मिक पर्यटनको दृष्टिले पनि सिलु महादेव भक्तपुरको उदाउँदो शिव धामका रूपमा परिचित बन्दै गएको छ।

स्थानीय पर्यटन व्यवसायीहरूले सिलु महादेव मन्दिर खुला भएपछि भक्तपुर आउने धार्मिक पर्यटकको बसाइ लम्बिने र स्थानीय होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायलाई समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन्। लामो समयदेखि बन्द रहेको मन्दिर खुला गरिएसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

ऐतिहासिक सम्पदा, धार्मिक आस्था र पौराणिक किंवदन्तीको संगमका रूपमा रहेको सिलु महादेव मन्दिर अहिले भक्तपुरको नयाँ धार्मिक पर्यटन गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

संरक्षण र व्यवस्थापनलाई निरन्तरता दिन सके यस मन्दिरले भक्तपुरको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App