१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतसहित पाँच देशलाई हर्मुज जलमार्ग खुला

इरानले मैत्रीपूर्ण सम्बन्ध भएका भारतसहित पाँच देशका पानीजहाजलाई हर्मुज जलमार्ग प्रयोग गर्न अनुमति दिने भएको छ । पश्चिम एसियामा जारी युद्ध तथा तनावबिच भारत, चीन, रुस, पाकिस्तान र इराकका पानीजहाजले यो मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न पाउने भएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द नगरिएको र केही खास देशका जहाजलाई त्यो मार्ग प्रयोग गर्न अनुमति दिइएको बताएका छन् । ‘कैयौं देशले हामीलाई सम्पर्क गरी सुरक्षित मार्गको सुनिश्चितताका निम्ति अनुरोध गरेका छन् । हामीले मित्र मानेका केही देश र अरू विशेष कारणले अनुमित पाएका देशहरूका लागि हाम्रा सशस्त्र बलले सुरक्षित आवागमन उपलब्ध गराएका छन्,’ अराघचीले भने । उनले अनुमति दिइएका पाँच मित्र राष्ट्रका पानीजहाजले केही दिनअघि मात्र यो जलमार्ग पार गरेका बताए । ‘यो सिलसिला आगामी दिनमा पनि जारी रहनेछ,’ उनले भने ।

जारी युद्धमा प्रत्यक्ष भूमिकामा रहेका अमेरिका, इजरायल र खाडी राष्ट्रलाई हर्मुज जलमार्ग प्रयोगका लागि अनुमति नदिइने उनले बताए । ‘अहिले हामी युद्धमा छौं । त्यसैले शत्रु राष्ट्र र उसका सहयोगीलाई यो जलमार्ग प्रयोग गर्न दिनुपर्ने कुनै कारण छैन,’ उनले भने । उनले युद्धमा इरानले आफ्नो सामरिक शक्ति प्रमाणित गरेको पनि बताए । (एजेन्सीको सहयोगमा)

प्रकाशित: १२ चैत्र २०८२ २१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App