रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए।
गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन्।
उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। ड्रोनका अवशेष रेलमा खस्दा उपनगरीय क्षेत्रमा यात्रा गरिरहेका केही यात्रु घाइते भएका थिए। मृतकहरू कहाँ मारिएका थिए भन्नेबारे भने उनले खुलाएका छैनन्।
आक्रमणका कारण सहरको मध्य भागमा रहेको एउटा व्यापारिक केन्द्र र आवासीय भवनमा आगलागी भएको गभर्नरले बताए। औद्योगिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको भए पनि त्यसको विस्तृत विवरण दिइएको छैन।
आक्रमणपछि भोरोनेज स्टेट युनिभर्सिटीका केही सङ्कायले अस्थायी रूपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय गरेका छन्। विश्वविद्यालयका प्रवक्ताले सरकारी समाचार संस्था तासलाई यसबारे जानकारी दिए।
मस्कोबाट करिब पाँच सय किलोमिटर दक्षिणमा रहेको भोरोनेजमा १० लाखभन्दा बढी मानिस बसोबास गर्छन्।
सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुस र युक्रेनबीच अमेरिकी मध्यस्थतामा नोभेम्बरमा शान्तिवार्ता पुनः सुरु गर्ने तयारी भइरहेका बेला यो घटना भएको हो।
यस वर्षको सुरुदेखि रोकिएको प्रत्यक्ष वार्ता सन् २०२५ मा पनि कुनै सहमतिबिना टुङ्गिएको थियो। रुसी पक्षका अनुसार आगामी वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने तय भएको छ।एएफपी
प्रकाशित: ९ कार्तिक २०८३ १८:४४ सोमबार




-600x400.jpg)
