१० मंसिर २०८३ बिहीबार
image/svg+xml
विचार

युवा प्रधानमन्त्रीको परिपक्व कूटनीति

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो राजकीय भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई परम्परागत मित्रताको सीमाबाट माथि उठाएर आर्थिक साझेदारी, ऊर्जा विकास, आधुनिक पूर्वाधार, पर्यटन, प्रविधि र उद्यमशीलताको नयाँ युगतर्फ अघि बढाउने सम्भावना देखाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्राप्त आत्मीय स्वागत, उच्चस्तरीय सम्मान र नेपालको विकास यात्रामा सहकार्य गर्ने प्रतिबद्धताले नेपाली जनतामा नयाँ आशा र उत्साह जगाएको छ। करिब २५ घण्टाको यो भ्रमण समयका हिसाबले छोटो भए पनि यसको राजनीतिक सन्देश, आर्थिक अजेन्डा र रणनीतिक महत्त्व ठुलो छ।

२४ हजार करोड रुपैयाँको सहयोग:अवसरसँगै जिम्मेवारी

यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण आर्थिक प्रतिबद्धतामध्ये भारतले नेपाललाई उपलब्ध गराउने कुल २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता तथा सहुलियतपूर्ण ऋणको व्यवस्था हो। यसमध्ये पाँच हजार ६ सय करोड रुपैयाँ अनुदान सहायता र १८ हजार चार सय करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सुविधा रहेको छ।

यो सहयोग नेपालको पुनर्निर्माण, नयाँ पूर्वाधार निर्माण र ऊर्जा क्षेत्रको विस्तारका लागि ठुलो अवसर बन्न सक्छ। विशेषगरी गत अगस्टमा रसुवा, भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित समुदाय, सडक, पुल, विद्युत् आयोजना र अन्य संरचनाको पुनर्निर्माणमा यसको उपयोग गर्न सकिन्छ।

जलविद्युत् र ऊर्जा:नेपालको समृद्धिको सम्भावना

नेपालको प्राकृतिक सम्पदामध्ये जलस्रोत सबैभन्दा ठुलो आर्थिक सम्भावना बोकेको क्षेत्र हो। दशकौंदेखि उपयोग हुन नसकेको जलविद्युत् क्षमतालाई अब उत्पादन, प्रसारण, आन्तरिक खपत र निर्यातसँग जोड्नुपर्ने समय आएको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास हुनु महत्त्वपूर्ण उपलब्धि हो। यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी र सहकार्यको सम्भावनालाई थप अगाडि बढाएको छ।

त्यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सप्तकोसी र सुनकोसीजस्ता परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अघि बढाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।

राम र सीताको सम्बन्ध जोड्ने रेलसेवा: साझा सभ्यताको गौरव

यस भ्रमणको सबैभन्दा भावनात्मक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको उपलब्धिमध्ये अयोध्या–जनकपुर यात्रुवाहक रेलसेवाको शुभारम्भ पनि एक हो। भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेलसेवा केवल यातायातको सुविधा होइन, नेपाल र भारतबिचको शताब्दीयौं पुरानो धार्मिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई आधुनिक पूर्वाधारसँग जोड्ने माध्यम पनि हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गर्नुभएको एउटा भाव विशेष स्मरणीय छ– ‘नेपालबिना हाम्रा राम पनि अधुरा छन्।’

अब अयोध्या र जनकपुरबिचको रेलसेवाले धार्मिक पर्यटन मात्र होइन, स्थानीय व्यवसाय, होटल, यातायात, हस्तकला, सांस्कृतिक कार्यक्रम र रोजगारीका अवसर पनि विस्तार गर्न सक्छ।

यसैगरी बौद्ध तथा शिव–शक्ति पर्यटन सर्किट विकास गर्ने सहमतिले लुम्बिनी, पशुपतिनाथ, जनकपुर र नेपालका अन्य धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्ने सम्भावना बढाएको छ।

नेपालको आकाशमा नयाँ सम्भावना: हवाई प्रवेशमार्ग विस्तार

नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार लामो समयदेखि राष्ट्रिय चासोको विषय रहँदै आएको छ। विशेषगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई प्रवेशमार्ग आवश्यक छ। यस भ्रमणमा काठमाडौं–भैरहवा–लखनउको बी ३४५ हवाईमार्गलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति हुनु महत्त्वपूर्ण उपलब्धि हो।

नेपालगन्ज, महेन्द्रनगर र जनकपुरलगायत क्षेत्रबाट सहज हवाई प्रवेशको सम्भावना पनि महत्त्वपूर्ण छ। सहमतिलाई प्राविधिक तहमा छिटो कार्यान्वयन गर्न दुवै देशले प्राथमिकता दिनुपर्छ।

रेलमार्ग, सडक र बन्दरगाह: नेपालको व्यापारलाई विश्वबजारसँग जोड्ने आधार

नेपाल भूपरिवेष्टित देश भएकाले अन्तर्राष्ट्रिय व्यापार र पारवहनका लागि सहज पहुँच उपलब्ध हुनु आर्थिक विकासको आधार हो। यस भ्रमणमा भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने व्यवस्था अघि बढाएको छ।

आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पाराद्वीप बन्दरगाहसम्म पनि पहुँच विस्तार गर्ने विषय अघि बढेको छ। यो नेपालको व्यापार विविधीकरणका लागि महत्त्वपूर्ण कदम हो। रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न हुनु अर्को महत्त्वपूर्ण उपलब्धि हो। नेपालभित्र पूर्वपश्चिम रेल सञ्जाल विकास गर्ने तथा बर्दिबास–निजगढ र वीरगन्ज–निजगढ खण्डलाई प्राथमिकता दिने सहमतिले भविष्यको यातायात संरचनालाई नयाँ आधार दिन सक्छ।

जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका बाँकी काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता पनि महत्त्वपूर्ण छ। दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन, बनबासा एकीकृत जाँचचौकीको शिलान्यास तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका सीमापूर्वाधारलाई गति दिने सहमतिले सीमापार व्यापार र आवागमन सहज बनाउन सक्छ।

 मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन, झापामा पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास र सिलिगुडी–झापा पाइपलाइन निर्माणको पहलले ऊर्जा आपूर्ति तथा व्यापारमा सहकार्य थप बलियो बनाउन सक्छ।

स्टार्टअप, उद्यमशीलता र प्रविधि: युवा पुस्ताको भविष्य स्वदेशमै

प्रधानमन्त्री शाहको भारत भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष युवा, स्टार्टअप र प्रविधिमा आधारित अर्थतन्त्रसँग सम्बन्धित छ। आजको विश्वमा कुनै पनि देशको आर्थिक शक्ति प्राकृतिक स्रोतले मात्र निर्धारण गर्दैन, नवप्रवर्तन, ज्ञान, प्रविधि र उद्यमशीलताले पनि भविष्य निर्धारण गर्छन्।

नेपाल र भारतबिच स्टार्टअप साझेदारी सञ्जाल विस्तार गर्ने, नेपाली स्टार्टअपलाई भारतीय बजार, तालिम, परामर्श र प्रविधिसँग जोड्ने तथा काठमाडौंमा स्टार्टअप उत्कृष्टता केन्द्र स्थापना गर्ने विषय संयुक्त दृष्टिमा समेटिएका छन्। पोखरामा डिजिटल नोम्याड्स तथा नवप्रवर्तन केन्द्र विकास गर्ने योजनाले नेपालको पर्यटन र प्रविधि क्षेत्रलाई एकसाथ अघि बढाउने सम्भावना देखाएको छ।

स्टार्टअपलाई सूचनाप्रविधिमा मात्र सीमित राख्नुहुँदैन। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत्, हरित अर्थतन्त्र, उत्पादन, जडीबुटी र खाद्यप्रशोधनजस्ता क्षेत्रमा पनि नयाँ उद्यमको सम्भावना छ। महिला उद्यमी, ग्रामीण क्षेत्रका युवा, स्थानीय आविष्कारक र सीमान्तकृत समुदायका प्रतिभालाई समेत यस अवसरसँग जोड्नुपर्छ।

युवालाई रोजगारी खोज्ने अवस्थामै मात्र राख्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने नीति र वातावरण तयार गर्नुपर्छ। यही नै ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा बदल्ने वास्तविक बाटो हो।

कृषि र औद्योगिक विकास: किसानलाई उत्पादकबाट उद्यमीसम्म

नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो। तर परम्परागत खेती प्रणाली, सीमित प्रविधि, बजारको अभाव र प्रशोधन उद्योगको कमीका कारण कृषि क्षेत्रले अपेक्षित आर्थिक योगदान दिन सकेको छैन। यस भ्रमणमा चितवनमा भारतीय अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा हुनु महत्त्वपूर्ण छ।

कृषि उत्पादनको प्रशोधन, भण्डारण, प्याकेजिङ, बजारीकरण र निर्यातलाई एउटै प्रणालीमा जोड्न सके किसानको आम्दानी बढाउन सकिन्छ। किसानलाई उत्पादनमा मात्र सीमित नराखी उद्यमी बन्ने अवसर दिनुपर्छ।

महिला किसान, युवा कृषि उद्यमी र ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका साना व्यवसायलाई प्रविधि, सहुलियतपूर्ण ऋण र बजारसँग जोड्न सके कृषि क्षेत्रबाटै ठुलो रोजगारी सिर्जना गर्न सकिन्छ।

शिक्षा, सिप र मानव संशाधन: भविष्य निर्माणमा लगानी

कुनै पनि देशको सबैभन्दा ठुलो सम्पत्ति त्यहाँका नागरिक हुन्। विशेषगरी युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा, सिप र प्रविधिसँग जोड्न सके मात्र देशले दीर्घकालीन समृद्धि हासिल गर्न सक्छ। भारतको प्रतिष्ठित प्रविधि संस्थानको विदेशी क्याम्पस नेपालमा स्थापना गर्ने सहमतिले नेपालको उच्च शिक्षा र अनुसन्धान क्षेत्रका लागि महत्त्वपूर्ण अवसर प्राप्त भएको छ।

यस भ्रमणका क्रममा स्वास्थ्य, आयुर्वेद, पशुपालन, मत्स्यपालन, अनुसन्धान, प्रहरी तालिम, नागरिक सेवा, दिगो सहरी विकास र विपद् तयारीलगायत क्षेत्रमा आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्। सिप विकास, प्रशासनिक क्षमता अभिवृद्धि र अनुसन्धानका क्षेत्रमा पनि सहकार्यका अवसर खुलेका छन्।

नेपाल छिमेकीका साथै विकास साझेदार पनि

प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा गरिएको औपचारिक स्वागत, सम्मानगारद र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँगको भेटले भ्रमणलाई थप गरिमामय बनाएको छ। छिमेकी मुलुकले नेपालको प्रधानमन्त्रीलाई दिएको सम्मानले दुई देशबिचको मित्रता र आपसी विश्वासको महत्त्व झल्काउँछ।

मित्रता भनेको आफ्नो राष्ट्रिय सरोकार र प्राथमिकता स्पष्ट रूपमा राख्न नसक्नु होइन। वास्तविक मित्रता भनेको पारस्परिक सम्मानसाथ आफ्ना कुरा राख्न सक्नु, एकअर्काको संवेदनशीलता बुझ्नु र साझा हितका क्षेत्रमा इमानदार सहकार्य गर्नु हो। नेपाल भारतको नजिकको छिमेकी मात्र होइन, सम्भावना बोकेको आर्थिक साझेदार पनि हो।

अब प्रतिबद्धतालाई परिणाममा बदल्ने समय

यति धेरै सकारात्मक उपलब्धिका बाबजुद नेपाल–भारत सम्बन्धका केही पुराना र संवेदनशील विषय अझै समाधानको प्रतीक्षामा छन्। सीमाविवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनजस्ता विषयलाई निरन्तर संवादबाट समाधान गर्नुपर्छ। पानी, ऊर्जा, व्यापार र सीमासम्बन्धी बाँकी विषय नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र पारस्परिक सम्मानलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।

अब नेपाल सरकारले भ्रमणमा भएका सहमति र प्रतिबद्धतालाई कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना बनाउनुपर्छ। कुन मन्त्रालयले कुन परियोजना अघि बढाउने, कति समयभित्र काम सम्पन्न गर्ने, लगानीको अवस्था के हुने र त्यसबाट नेपाली जनताले के लाभ पाउने भन्ने विषय सार्वजनिक हुनुपर्छ।

विदेशी सहयोगको घोषणालाई उत्पादन, रोजगारी, उद्योग, व्यापार र जनताको जीवनस्तरमा देखिने परिवर्तनमा बदल्न सक्नुपर्छ। सरकारको प्रतिबद्धता कागजमा होइन, कार्यान्वयनमा देखिनुपर्छ।

नयाँ पुस्ताको नेतृत्व, समृद्ध नेपालको आशा

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो राजकीय भारत भ्रमणले नेपालमा नयाँ सम्भावनाको सन्देश दिएको छ। युवा नेतृत्वले देशको विकासका लागि नयाँ सोच, नयाँ ऊर्जा र नयाँ प्राथमिकता प्रस्तुत गर्न सक्छ भन्ने विश्वास यस भ्रमणले बलियो बनाएको छ तर नेतृत्वको वास्तविक मूल्यांकन भ्रमण, भाषण र स्वागतबाट मात्र हुँदैन, देशभित्र भएका काम, निर्णय र परिणामबाट हुन्छ।

हामीलाई अब भाषणभन्दा परिणाम चाहिएको छ। बिदेसिने युवालाई स्वदेशमै अवसर चाहिएको छ। किसानलाई बजार चाहिएको छ। महिला उद्यमीलाई लगानी चाहिएको छ। उद्योगीलाई स्थिर नीति चाहिएको छ। स्टार्टअपलाई पुँजी, प्रविधि र बजार चाहिएको छ।

श्रम र प्रतिभालाई सम्मान गर्ने, उत्पादन र उद्यमलाई प्रोत्साहन गर्ने अर्थतन्त्र चाहिएको छ। प्रधानमन्त्री शाहले भ्रमणमा उठाएका विषयलाई स्वदेश फर्किएपछि पनि उत्तिकै प्राथमिकता दिन सक्नुपर्छ। सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय विकास साझेदारबिच परिणाममुखी सहकार्य आवश्यक छ।

विशेषगरी महिला र युवा उद्यमीलाई भारतको बजार, प्रविधि, लगानीकर्ता र व्यावसायिक सञ्जालसँग जोड्न सकियो भने यस भ्रमणको लाभ समाजको ठुलो हिस्सासम्म पुग्न सक्छ। नेपालको समृद्धि ठुला पूर्वाधार निर्माणबाट मात्र सम्भव हुँदैन, गाउँगाउँमा उद्यमी जन्मिनुपर्छ, स्थानीय उत्पादनले बजार पाउनुपर्छ र युवाले आफ्नै देशमा भविष्य देख्नुपर्छ।

पच्चिस घण्टाको यो भ्रमणले सबै समस्या समाधान गरेको छैन तर नेपालको भविष्यका लागि सम्भावनाका धेरै ढोका खोलेको छ। अब ती ढोकाबाट लगानी, रोजगारी, प्रविधि, पर्यटन र समृद्धि भित्र्याउने जिम्मेवारी हाम्रो हो। यो अवसरलाई गुमाउने छुट नेपाललाई छैन।  

प्रकाशित: १० मंसिर २०८३ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %