२५ श्रावण २०८३ सोमबार
image/svg+xml
विचार

चीनका लागि एआई किन जोखिम बन्दै छ?

सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडलहरूबिच अहिले क्षमताको तुलना भइरहेकै सन्दर्भमा आगामी दिनमा एआई प्रविधिले अमेरिका र चीनमा रहेको प्रतिस्पर्धी राजनीतिक प्रणालीको पनि परिक्षण गर्ने देखिएको छ।

यी पृष्ठभूमिमा दुई देशको कुन प्रणाली एआई उपकरण निर्माण गर्न र तिनलाई समग्र अर्थतन्त्रभर फैलाउन बढी सक्षम पार्नेछ भन्ने देखाउनेछ। यसको परिणाम दुवै देशले समाज सञ्चालन गर्न अवलम्बन गरेको फरक फरक सोचमा पनि निर्भर हुनेछ।

एआईजस्तो तीव्र गतिमा परिवर्तन भइरहेको क्षेत्रमा यो प्रतिस्पर्धाको परिणाम स्पष्ट हुन अझै केही वर्ष लाग्न सक्छ तर चीनभित्रैबाट गरिएको हाम्रो रिपोर्टिङले देखाउँछ कि चीनले एआईलाई तीव्र गतिमा अपनाइरहेको छ र यसबाट आउन सक्ने ठुलो आर्थिक तथा सामाजिक परिवर्तनका लागि सरकारले तयारी गरिरहेको छ। अधिनायकवादी शासन प्रणालीका रूपमा चीनसँग २१औं शताब्दीको सबैभन्दा सम्भावनायुक्त प्रविधि प्रयोग गर्ने केही फाइदा छन् तर उसका चुनौती पनि कम छैनन्।

चीनको एआई मोडलको क्षमता

तुलनात्मक रूपमा चीनका एआई मोडल सस्ता छन् र अमेरिकी मोडलभन्दा सधैं पछाडि छन् भन्ने कतिपयको धारणा छ। वास्तविकता फरक देखिँदै छ। अमेरिका र चीनका एआई मोडलबिचको दुरी घट्दै गएको छ। चिनियाँ नवप्रवर्तनशील मोडलहरू अझ ठुला र सक्षम बन्दै छन्। केही साताअघि मात्र चिनियाँ प्रयोगशालाहरूले ‘क्वेन ३.८ म्याक्स’ र ‘किमी के–३’ एआई मोडल सार्वजनिक गरेका छन्। यी मोडलहरू अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको फेबल–५ जस्ता सबैभन्दा उन्नत एआई मोडलसँग लगभग बराबरीमा छन्। त्यसैले अहिले चिनियाँ एआई मोडलहरू पनि अमेरिकी मोडलजस्तै परीक्षणको सीमाबाट बाहिर निस्केर अप्रत्याशित रूपमा प्रयोग हुन सक्ने अवस्थामा छन्।

तुलनात्मक रूपमा चिनियाँ मोडलहरू सस्ता छन् र अमेरिकी मोडलहरू धेरै अवस्थामा बढी प्रभावकारी देखिन्छन्। अमेरिकी कम्पनी आर्टिफिसियल एनालाइसिसका अनुसार लागत र क्षमताबिच सन्तुलन हेर्दा धेरै अवस्थामा अमेरिकी मोडलहरूले चिनियाँ मोडललाई उछिनेका छन्।

पूर्वाधारमा चीनको चुनौती र क्षमता

त्यसो त, एआई प्रतिस्पर्धामा चीन र अमेरिकाबिचको दुरी अझै कायम छ। चीनले अमेरिकाको तुलनामा करिब एक दशांश मात्र डेटा सेन्टर क्षमता निर्माण गरिरहेको छ तर यो अन्तर लामो समयसम्म कायम रहने सम्भावना छैन। अर्ध–नियोजित अर्थतन्त्र भएको चीन ठुलो पूर्वाधार निर्माणमा प्रभावकारी छ। अमेरिकामा डेटा सेन्टरप्रति जनमत कमजोर बन्दै गएको बेला दक्षिणपूर्वी एसियाका देशले ठुला खाले चिनियाँ डेटा सेन्टरलाई स्थान दिइरहेका छन्।

चीनका खुला (ओपन वेट) एआई मोडलहरू जुनसुकै कम्पनी वा व्यक्तिले आफ्नै सर्भरमा चलाउन सक्छन। त्यसैले बाहिर देखिएजति कम्प्युटिङ क्षमता अभावको समस्या त्यति ठुलो नहुन सक्छ। यसैगरी ऊर्जाको क्षेत्रमा पनि चीन अगाडि छ। चीनसँग अमेरिकाको तुलनामा झन्डै तीन गुणा बढी विद्युत् उत्पादन क्षमता छ र यो अग्रता अझ बढिरहेको छ।

प्रतिबन्धबिच पनि चीनको अनुकूलन

पछिल्ला वर्षमा चीनले आफूलाई अमेरिकी प्रतिबन्धसँग अनुकूल बनाउँदै लगेको छ। उसले अत्याधुनिक एनभिडिया चिपहरू गोप्य रूपमा भित्र्याउने र विदेशका डेटा सेन्टर भाडामा लिएर प्रयोग गर्ने गरेको छ।

चीनको प्रमुख चिप डिजाइन कम्पनी हुवावेले पनि आफ्नो कमजोर मानिएका चिप उत्पादन क्षमता तीव्र रूपमा बढाइरहेको छ। चीनमा बनेका लिथोग्राफी उपकरणहरूले अहिले ‘डिप अल्ट्राभायोलेट’ प्रकाश प्रयोग गरेर चिप उत्पादन गर्न थालेका छन्। यद्यपि सबैभन्दा उन्नत एक्स्ट्रिम अल्ट्राभायोलेट (इयुभी) प्रविधि अझै चीनको पहुँचभन्दा बाहिर छ।

एआईको प्रयोग मुख्य कुरा

एआई मोडल बनाउनु मात्र पर्याप्त हुँदैन। अर्थतन्त्रलाई गतिशील बनाउन एआईलाई व्यापक रूपमा प्रयोगमा ल्याउनुपर्छ। यही विषय चीनको एआई नीतिको मुख्य केन्द्र बनेको छ। लामो समयसम्म चीन अमेरिकी एआई विकासभन्दा पछाडि रहेकाले चिनिया नेताहरूले प्रविधिको व्यापक प्रयोगलाई प्रतिस्पर्धाको मुख्य आधार मानेका छन्।

विद्युत् उत्पादनजस्ता व्यापक प्रविधिको विगतको इतिहासबाट पनि उनीहरूलाई राम्ररी थाहा छ– आविष्कारभन्दा नयाँ प्रविधिको प्रयोगले कहिलेकाही झन् ठुलो आर्थिक लाभ दिन सक्छ।

यसैगरी चीनको काम गर्ने उमेर समूहको जनसंख्या सन् २०५० सम्ममा २५ प्रतिशतले घट्ने अनुमान छ। त्यसैले उसका लागि मानिसको स्थान मेसिनले लिन सक्ने एआईको व्यापक प्रयोग आवश्यक हुनेछ। त्यसो त, अहिलेसम्म अमेरिका वा चीनको आर्थिक तथ्यांकमा एआई प्रयोगको प्रभाव स्पष्ट रूपमा देखिएको छैन तर केही क्षेत्रमा परिवर्तन तीव्र भइसकेको छ। एआई प्रयोग भएका ट्रक सञ्चालनमा चालकको आवश्यकता ३० प्रतिशतसम्म घट्न सक्ने एक ठुलो कम्पनीको अनुभवले देखाएको छ।

त्यस्तै, सन् २०२६ को पहिलो तीन महिनामा सार्वजनिक भएका एक लाख २८ हजार अत्यधिक लोकप्रिय एक–दुई मिनेट लामो छोटा नाटक (माइक्रोड्रामा) मध्ये ९५ प्रतिशत एआई प्रयोग गरेर निर्माण गरिएका थिए। यसले धेरै कलाकार र फिल्म निर्माण टोलीको आवश्यकता घटाएको छ।

रोबोटको विस्तार र रोजगारीको जोखिम

चीनले रोबोटको प्रयोग पनि तीव्र पार्दैे छ। जुन महिनामा चिनियाँ नेताहरूले स्थानीय सरकार र राज्य स्वामित्वका कम्पनीहरूलाई सन् २०२६ को अन्त्यसम्म १० हजार मानवरूपी (ह्युम्यान्वाइड) रोबोटलाई वास्तविक काममा प्रयोग गर्न निर्देशन दिएका थिए। मोर्गन स्ट्यान्ली बैंकका अनुसार सन् २०३० सम्म चीनमा मानवरूपी रोबोटको बिक्री चार लाख ४६ हजार पुग्न सक्छ, जुन यस वर्षको बिक्रीभन्दा नौ गुणा बढी हो। अहिले, ठुला गोदामहरूमा कामदारहरूलाई कपडा पटक–पटक पट्याउने, वस्तु छुट्याउने र थुपार्ने काम गराएर रोबोटलाई सिकाइँदै छ।

अमेरिकाको तुलनामा चीनमा बौद्धिक तथा व्यावसायिक रोजगारीमा आबद्ध कामदारको हिस्सा कम छ। त्यसैले एआईको प्रभाव उपभोक्ता बजार र श्रमप्रधान काममा बढी पर्ने सम्भावना देखिन्छ। यसले सामाजिक असन्तुष्टि निम्त्याउन सक्छ।

चीनमा युवा बेरोजगारी दर अहिले नै करिब १५ प्रतिशत छ भने ३० करोडभन्दा बढी मानिस छोटो अवधिको रोजगारीमा आधारित ‘गिग अर्थतन्त्र’मा काम गर्छन्। यो अवस्थामा रोजगारी गुम्ने गति जनसंख्या घट्ने गतिभन्दा धेरै तीव्र हुन सक्छ।

कम्युनिस्ट पार्टीका लागि राजनीतिक चुनौती

कम्युनिस्ट पार्टीको नियन्त्रण यति बलियो छ कि उसले एआईबाट उत्पन्न असन्तुष्टिलाई बेवास्ता गर्न सक्छ भन्ने कतिपयको ठम्याई छ तर अधिनायकवादी शासनहरू पनि अचानक कमजोर बन्ने अवस्थाबाट डराउँछन्। चिनियाँ कम्पनीहरू एआई विस्तार गर्न चाहन्छन् तर यो अवस्थामा चिनिया सरकार सामाजिक अस्थिरता रोक्न अत्यन्त सतर्क बन्नेछ। त्यसैले एआई चीनको राजनीतिक प्रणालीकै परीक्षण बन्नेछ तर चीनसँग विकल्प सीमित छन्।  

अमेरिकाजस्तै चीनमा पनि पुनः सिप विकास (रिट्रेनिङ) को कुरा भइरहेको छ। तर यसको सफलता भने सीमित छ। डेनमार्क र सिंगापुरजस्ता सफल देशहरूले समेत कामदारलाई पूर्ण नयाँ करियरका लागि तयार पार्न कठिनाइ भोगिरहेका छन्। चीनमा त पहिले नै धेरै शिक्षित बेरोजगार छन्, त्यसैले उसका लागि यो अझ चुनौतीपूर्ण हुन सक्छ।

केही चर्चित अर्थशास्त्री र सल्लाहकारले एआई कम्पनीमाथि कर लगाउने वा सबै नागरिकलाई न्यूनतम आधारभूत आम्दानी दिने जस्ता उपाय सुझाएका छन्। यी प्रस्ताव पार्टीका आधिकारिक जर्नलहरूमा पनि प्रकाशित भएका छन्। राष्ट्रपति सी चिनफिङ लामो समयदेखि यस्तो सहायता नीतिको आलोचक रहँदै आएका छन्।

सरकारको दुविधा

चिनियाँ नेताहरूले कम्पनीहरूलाई कर्मचारी निकाल्नुको सट्टा अन्य काममा पुनः प्रयोग गर्न दबाब दिइरहेका छन्। यो अवस्थामा राज्य स्वामित्वका कम्पनीहरूलाई अतिरिक्त श्रमशक्ति व्यवस्थापन गर्नेतर्फ लगाउन सकिन्छ तर चीनको घरेलु आर्थिक वृद्धि कमजोर रहेको वर्तमान पृष्ठभूमि यसले तीव्र एआई विस्तारबाट प्राप्त हुने आर्थिक लाभलाई कम गर्न सक्छ।  

त्यसैले चिनिया सरकार सम्भवतः परिस्थिति हेरेर अघि बढ्न सक्छ– समस्या नआउन्जेल एआई विस्तार गर्न दिने र समस्या देखिएपछि हस्तक्षेप गर्ने उसको नीति हुन सक्छ। विगतमा पनि ट्युसन र गेमिङ उद्योगमा समानखाले चुनौती देखिँदा चिनिया सरकारले यी क्षेत्रले धेरै नकारात्मक प्रभाव पारिरहेको भन्दै अचानक कडा कदम चालेको थियो।

हालै वुहानमा १०० भन्दा बढी रोबोट ट्याक्सीमा समस्या आएपछि अधिकारीहरूले रोबोट ट्याक्सी परीक्षणलाई केही सुस्त बनाएका छन्। एआई क्षेत्रमा बारम्बार रोक्ने र पुनः छोड्ने नीति अपनाउँदा नवप्रवर्तनमा असर पर्न सक्छ। चीनका नेताहरूले सामाजिक अस्थिरताको जोखिम र अमेरिकाभन्दा पछाडि पर्ने जोखिमबिच सन्तुलन कायम गर्नुपर्नेछ।

- द इकोनोमिस्ट  

प्रकाशित: २५ श्रावण २०८३ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %