११ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह

फाइल तस्बिर

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८३ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App