प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले चालकको आत्मसम्मान, सेवा सुविधा तथा शारीरिक र मानसिक स्वास्थ्यबारे अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै धितालले चालकहरूको तलब, खानपान, काम गर्ने समय, आराम तथा मानसिक स्वास्थ्यजस्ता विषयलाई बेवास्ता गर्न नहुने बताइन्।
उनले भनिन्, ‘उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन।’
न्यून तलब र कमजोर आत्मसम्मानका कारण चालकहरूमा आक्रोश तथा निराशा बढिरहेको हुन सक्ने उनको भनाइ थियो। धेरै घण्टा काम गराउने, पर्याप्त आराम नदिने र चालकले कति कमाएर ल्यायो भन्ने विषयलाई मात्र प्राथमिकता दिने प्रवृत्तिमाथि पुनर्विचार आवश्यक रहेको उनले बताइन्।
‘न्यून तलब अनि कमजोर आत्मसम्मान हामीले उनीहरूलाई छाडिदिएका कारण पनि यस्तो भएको हो कि उनीहरू कहिलेकाहीँ त्यत्तिकै रिसाइरहेका, झर्किरहेका जस्ता देखिन्छन्,’ धितालले भनिन्।
उनले त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाबाट यातायात व्यवसायी, चालक तथा उनीहरूका परिवार र ट्राफिक तथा प्रहरी निकायले समेत पाठ सिक्नुपर्ने बताइन्।
धितालले ट्राफिक प्रहरी र प्रहरीको कार्यशैलीबारे पनि पुनर्विचार गर्नुपर्नेमा जोड दिइन्। घटनामा चालकलाई मात्र दोषी देखाएर समस्या समाधान नहुने उनको भनाइ थियो।
‘खाली चालकलाई मात्र दोष थोपरेर समस्या समाधान होला भन्ने मलाई फिटिक्कै लाग्दैन,’ उनले भनिन्।
उनले चालकहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मनोपरामर्शको आवश्यकता बढ्दै गएको बताइन्। चालकको व्यवहारमा देखिने आक्रोश, तनाव र असहजताका कारण पहिचान गर्न सम्बन्धित निकायले मनोसामाजिक पक्षलाई समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: ६ आश्विन २०८३ १३:४० मंगलबार





