७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

वाम एकतामा हतारिएर फुर्सदमा पछुताउनु हुन्न, जबर्जस्ती गर्दा फेरि दुर्घटना हुन्छ: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीच हतारमा एकता गरेर पछि पछुताउनुभन्दा परिपक्व सहकार्यको बाटो रोज्नुपर्ने बताएका छन्।

साथै उनले पार्टी संरचनालाई सुदृढ बनाउन अनुभवी पुराना, परिपक्व प्रौढ र ऊर्जावान् युवालाई समेट्ने ‘थ्री-इन-वान’ पुस्तान्तरण मोडल अघि सारेका छन्।

बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ संवादमा बोल्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली, संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य वामपन्थी घटकहरूसँग सहकार्यका लागि निरन्तर संवाद भइरहेको जानकारी दिए।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरू लचिलो भएर संवादमा जुटेको बताउँदै उनले सम्बन्ध र सहमतिका आधारमा सहकार्यको ढाँचा तय हुने सुनाए।

‘हामी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने पक्षमा छौं। जोसँग पार्टी एकता सम्भव छ, एकता गर्छौं। एकता सम्भव नभए सहकार्य गर्छौं, त्यो पनि नभए कार्यगत मोर्चा बनाउँछौं,’ नेपालले भने, ‘केपी ओलीसँग पनि सहकार्य गरौं भन्ने सहमति भएको छ। मोहनविक्रम सिंहलगायत अन्य वाम घटकहरूसँग पनि छलफल चलिरहेको छ।’

तर विगतको तितो अनुभव स्मरण गर्दै उनले वैचारिक र भावनात्मक स्पष्टताबिनाको एकता दिगो नहुने बताए। ‘हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने काम अब दोहोरिनु हुन्न। विचार र मन नमिलेसम्म जबर्जस्ती एकता गर्दा फेरि दुर्घटना हुन्छ। विगतबाट हामीले पाठ सिक्नैपर्छ,’ उनले भने।

पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला पूर्वप्रधानमन्त्री नेपालले कुनै एक पुस्तालाई पूरै पाखा लगाउने सोच गलत भएको टिप्पणी गरे। उनले पार्टीलाई गतिशील बनाउन तीनवटै पुस्ताको सन्तुलन आवश्यक रहेको बताए।

‘हामीले थ्री-इन-वानको सोच बनाउनुपर्छ। पुरानाको अनुभव, प्रौढहरूको परिपक्व ज्ञान र युवाहरूको नयाँ जोस-जाँगर मिलाएर मात्र पार्टी बलियो बन्छ,’ नेपालले भने, ‘इतिहासको अनुभवलाई सम्मान गर्ने, अहिलेको पुस्तालाई जिम्मेवारी दिने र नयाँ पुस्तालाई प्रोत्साहित गर्ने नीति लिनुपर्छ।’

पार्टीको तल्लो तहदेखि नै युवालाई प्रत्यक्ष कार्यकारी भूमिका दिनुपर्ने योजना सुनाउँदै उनले ५० प्रतिशतसम्म हिस्सा सुरक्षित गर्न सकिने प्रस्ताव गरे।

‘वडा, पालिका र जिल्ला तहमा ५० प्रतिशतसम्म जिम्मेवारी नौजवानहरूलाई दिनुपर्छ। त्यहाँबाट खारिँदै उनीहरू प्रदेश र केन्द्रको नेतृत्व तहमा पुग्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘नमरुन्जेल पदमै टाँसिरहनुपर्छ भन्ने मान्यता म राख्दिनँ। तर, नयाँ पुस्तामा पनि अध्ययनशीलता, जिम्मेवारीबोध, विनम्रता र जनताको विश्वास जित्ने खुबी हुनुपर्छ। पद मात्र खोज्ने र काम नगर्ने अल्छी प्रवृत्तिलाई भने ठाउँ दिनु हुँदैन।’

प्रकाशित: ७ आश्विन २०८३ २०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App