२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

देश बनाउन सबैको साथ चाहिन्छ : रास्वपा महामन्त्री आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित सांसदको प्रयासबाट मात्रै सम्भव नहुने बताएका छन्। उनले देश बनाउन सबै पक्षको साथ, सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन्। 

शनिबार रुपन्देहीको भैरहवामा आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले आफूहरू जिम्मेवारीमा आएको धेरै समय नभएको भन्दै आगामी दिनमा जनताको साथ र सहयोग आवश्यक रहेको बताए। 

‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन। देश बनाउन सबैको साथ चाहिन्छ। सबैको समन्वयले देश बन्ने हो,’ उनले भने।

आचार्यले स्थानीय तह र प्रदेशको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै त्यसका लागि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको साथ आवश्यक रहेको बताए। उनले स्थानीय र जिल्ला तहबाटै संगठनात्मक तथा राजनीतिक गतिविधि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।  

‘अब स्थानीय तह र प्रदेशको निर्वाचन आउँदैछ। त्यसमा रास्वपाले तपाईंहरूको साथ खोजेको छ,’ उनले भने, ‘अझै साढे चार वर्ष पूर्ण रूपमा साथ दिनुपर्नेछ। त्यसका लागि स्थानीय र जिल्ला तहबाटै काम अघि बढाउनुपर्छ।’  

महामन्त्री आचार्यले पुराना राजनीतिक दललाई गाली गरेर मात्रै नयाँ राजनीतिक शक्ति स्थापित हुन नसक्ने बताए।  

‘पुराना पार्टीलाई गाली गरेर मात्रै हुँदैन। नयाँ पार्टीमा पुराना पार्टीबाट आउनेलाई स्वागत गर्नुपर्छ। हामी आरोप लगाउने मात्रै होइन, काम गरेर मन फर्काउने हो,’ उनले भने।  

पुराना दलबाट आएका व्यक्तिमध्ये खराब पृष्ठभूमिका व्यक्ति भए पनि उनीहरूलाई सुधारेर अघि बढाउन सकिने आचार्यले बताए। ‘पुराना पार्टीबाट खराबै पात्र आए पनि हामीले असल अभ्यास सिकाएर अघि बढाउनुपर्छ, सुधार्नुपर्छ,’ उनले भने। 

प्रकाशित: २३ श्रावण २०८३ १८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App