पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त उपलब्धिहरू संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत गम्भीर प्रश्नको घेरामा परेको दाबी गरेका छन्।
शनिबार अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै उनले राजनीतिक नेतृत्वले विगतका कमजोरीको निर्मम आत्मसमीक्षा नगरेसम्म मुलुकले सही दिशा लिन नसक्ने बताए।
राजनीतिमा सुधार र शुद्धीकरण गर्ने उद्देश्यका साथ मोर्चा गठन गरिएको बताउँदै नेता शर्माले भने, ‘जनयुद्ध, जनआन्दोलन, संसदीय संघर्षका साथै मधेश, थारुवान र जनजाति आन्दोलनका अनुभवहरूलाई एकीकृत गर्दै अग्रगामी मोर्चा बनाइएको हो। उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका मुद्दा सम्बोधन गर्न साझा राजनीतिक अभियान आवश्यक भइसकेको छ।’
परराष्ट्र नीतिका सम्बन्धमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखिने उनले बताए। छिमेकी मुलुकहरूसँग समानता र पारस्परिक सम्मानका आधारमा मात्रै सम्बन्ध विस्तार गरिने अवधारणापत्रमा उल्लेख छ।
यस्तै, लामो समयदेखि थाती रहेको सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि वैज्ञानिक र मानवीय दृष्टिकोण अपनाइने शर्माको भनाइ छ।
वास्तविक सुकुमवासी र भू-माफियाको सूक्ष्म पहिचान गर्न संघ, प्रदेश र स्थानीय तहको संयुक्त संयन्त्र बनाउने योजना मोर्चाले अघि सारेको छ।
प्रकाशित: २३ श्रावण २०८३ १९:२२ शनिबार





