६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

जरिवानाले मात्रै सडक दुर्घटना घट्दैन, चालकको मनोविज्ञान पनि जाँच हुनुपर्छ : सांसद गजुरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरणका लागि जरिवाना र कारबाहीमा मात्र केन्द्रित नभई चालकको मनोविज्ञान र सडक प्रयोगकर्ताको व्यवहार सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गजुरेलले त्रिपुरेश्वरमा भएको पछिल्लो घटनालाई यातायात व्यवस्थापन र सडक सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्ने बताए।

उनले चालक तथा अन्य सडक प्रयोगकर्ताको मनोवैज्ञानिक पक्ष सडक सुरक्षाका लागि महत्वपूर्ण हुने बताए।

‘सडक प्रयोगकर्ताले कस्तो मनोवैज्ञानिक धारणा र ज्ञानका साथ सडक प्रयोग गर्ने र चालकको मनोवैज्ञानिक ज्ञान कस्तो हुनुपर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिनुपर्छ,’ उनले भने।

विकसित देशमा सडक सुरक्षा र चालकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन जनचेतना तथा मनोवैज्ञानिक कार्यक्रमका लागि ठूलो लगानी गरिने बताउँदै उनले नेपालमा पनि यस्ता कार्यक्रम सञ्चालन हुनुपर्ने बताए।

ट्राफिक प्रहरीको अभाव र अत्यधिक कार्यचापका कारण सडक व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ थियो।

‘अहिले काठमाडौंमा मात्र हेर्ने हो भने १३ देखि १४ लाख सवारी साधन गुडिराखेका छन् भने त्यसलाई व्यवस्थापन गर्नको लागि हजार जना पनि ट्राफिक प्रहरी हुनुहुन्न’, उनले भने,‘चालक पनि मलाई कहिले कारबाही होला भन्ने एउटा त्रासमा सडक प्रयोग गरेको देखिन्छ भने ट्राफिक प्रहरी पनि दिनरात खटेर प्रेसरले यातायात व्यवस्थापन गर्नुपर्ने अवस्था छ।’

नेपालको नियमले एक चालकले दैनिक ६ घण्टा वा २५० किलोमिटरभन्दा बढी सवारी चलाउन नपाउने व्यवस्था गरेपनि तर उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

‘नियम कार्यान्वयन गर्नेभन्दा कारबाही मात्र गरिरहेका छौँ,’ गजुरेलले भने, ‘यसमा सुधार हुनुपर्छ।’

प्रकाशित: ६ आश्विन २०८३ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App